0 COMMENTS

जेठ १७, काठमाडाैँ । काभ्रे जिल्लाको कात्तिके देउराली स्थित सरस्वती माविमा जनयुद्धका महान सहिदद्वय सरला अधिकारी र कुमार चौलागाईको शालिक अनावरण गरिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य हरिभक्त कडेल प्रतीक लगायतका नेताहरुले एक विशेष समारोहका बिच शालिकमा खादा र अविर लगाएर शालिकको अनावरण गर्नुभयो । कार्यक्रममा सहिदद्वयको नाममा स्थापित पुस्तकालयको पनि सोही अवसरमा उद्घाटन गरिएको छ ।

कार्यक्रममा बोल्दै नेता हरिभक्त कडेलले भन्नुभयो, “जनयुद्धका सहिदहरुको सपना नेपालमा जनताको गणतन्त्र स्थापित गर्ने थियो, त्यो अझै प्राप्त भएको छैन, जनयुद्धकै बलमा स्थापित भएको अहिलेको कथित लोकतान्त्रिक गणतन्त्र जनताको हुन सकेन, केवल सभ्रान्त दलाल वर्गको बन्न पुग्यो । सहिदहरुका ती सपना अपुरा सपना पुरा गर्न अब फेरि जनताको गणतन्त्रका लागि संघर्षमा होमिनु पर्छ । यो देशमा जनताको वास्तविक गणतन्त्र स्थापित गरे मात्र सहिदहरुप्रतिको सच्चा सम्मान र सच्चा श्रद्धाञ्जली हुनेछ ।”
उहाँले सहिदहरुका ती सपना पुरा गर्न नै क्रान्तिकारीहरुबिच एकता प्रक्रिया अगाडि बढिरहेको चर्चा गर्दै छरिएर रहेका सम्पूर्ण क्रान्तिकारीहरुलाई एकताबद्ध हुन अपिल समेत गर्नुभयो । उहाँले अहिले दलाल, भ्रष्ट संसदीय व्यवस्थाबाट यो देशको राष्ट्रियता, जनतन्त्र र जनजीविकाका कुनै पनि समस्या समाधान नहुने भन्दै यो व्यवस्था फालेर नयाँ जनवादी व्यवस्था हुँदै वैज्ञानिक समाजवादी व्यवस्था स्थापित गर्न अपरिहार्य आवश्यक बनेको स्पष्ट पार्नुभयो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सहिद शालिक निर्माण समितिका अध्यक्ष ढोगप्रसाद अधिकारीको अध्यक्षता र प्रदिप गौतमको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा दिनानाथ गौतम, चौरी देउराली गापा अध्यक्ष रेणु चौलागाई लगायतका वक्ताहरुले पनि सहिदका सपनाहरु अधुरै रहेकोले फेरि माओवादी क्रान्तिकारीहरु एकढिक्का भएर संघर्ष गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।

कार्यक्रमका अध्यक्ष ढोगप्रसाद अधिकारीले सरस्वती माविमा कक्षा १० मा अध्ययनरत आफ्नी बहिनी सरला अधिकारीलाई थुनामा रहेका मामा ताराकान्त चौलागाई र भान्जा दाइ कुमार चौलागाईलाई खाना पु¥याउन गएको बेला २०५५ कात्तिक १२ गते प्रहरीले नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखेको र राष्ट्रिय मानव अधिकारको रिपोर्ट अनुसार बलात्कार गरी कात्तिक १९ गते गोली हानी हत्या गरेको भन्दै हत्यारालाई कारबाही गर्न जोडदार माग गर्नुभयो । उहाँले सोही दिन कुमार चौलागाईलाई पनि गोली हानी हत्या गरेको जानकारी दिनुभयो ।

उहाँले हत्यारालाई कारबाही गर्न राष्ट्रिय मानअधिकार आयोगले पटक पटक पत्राचार गर्दा र आफूले पनि आयोगको पत्र बोकेर सम्बन्धित निकायमा पटक पटक पहल गर्दा पनि दोषीमाथि कुनै कारबाही नभएको र आफूले दिएको किटानी जाहेरी पनि दर्ता नगरेको खुलासा गर्नुभयो । र, राष्ट्रिय मानव अधिकारले घटनाको सम्बन्धमा गरेको अध्ययन प्रतिवेदन पनि पढेर सुनाउनु भयो ।

उहाँले आफू र बहिनीले पढेकै विद्यालयमा शालिक र पुस्तकालय स्थापना गर्न प्रत्यक्ष र परोक्ष रुपमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद समेत दिनुभयो ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक अटल, सहिद परिवारहरु चुँडा प्रसाद अधिकारी, दुर्गा अधिकारी, कुमार चौलागाईको छोरा अशोक चौलागाई, आशिष चौलागाई विशेष अतिथि र तारादेवी चौलागाई, रुपेश लामा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलिप लामा, विद्यालयका प्रअ बलराम खरेल लगायत अतिथिको रुपमा उपस्थित रहनु भएको थियो ।

कार्यक्रममा रक्तिम सांस्कृतिक परिवारले क्रान्तिकारी गीत तथा नृत्य प्रस्तुत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।