0 COMMENTS

जेठ १४, काठमाडौँ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा ‘इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस’ भव्य रुपमा सम्पन्न भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको कार्यक्रममा चार जना स्रष्टाहरुलाई पुरस्कृत तथा सम्मानित गरिएको छ ।

इच्छुक स्मृति पुरस्कारबाट संयुक्त रुपमा सरला रेग्मी (दाङ) र नुमराज बराल(कास्की)लाई पुरस्कृत तथा सम्मानित गरियो भने इच्छुक प्रतिभा पुरस्कार अन्तर्गत साहित्यतर्फ तिर्थबहादुर तामाङ (पेमा) (भोजपुर) र कलातर्फ असल तामाङ वाईवा(सिन्धुपाल्चोक)लाई पुरस्कृत तथा सम्मानित गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक एवम् बरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक चैतन्यले अबिर, दोसल्ला र सम्मान पत्रसहित पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । सम्मानित तथा पुरस्कृत हुनु भएका स्रष्टाहरुले आ–आफ्ना फरक फरक अनुभूतिसहित महान सहिद कृष्णसेन इच्छुकको शब्द, कर्म र बलिदानको उच्च मूल्यबोधका साथ उहाँका अधुरा सपना पुरा गर्न निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा पुरस्कार तथा सम्मान छनौट समितिका संयोजक प्रा.डा. जगदिशचन्द्र भण्डारीले चारैजना सर्जकहरुको कला तथा साहित्यतर्फ गरेको योगदानको बारेमा जानकारी दिनुभएको थियो । छनौटको मापदण्ड र प्रक्रियाको बारेमा पनि स्पष्ट पार्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि चैतन्य, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बरिष्ठ नेता सीपी गजुरेल गौरव, पार्टीका सहसंयोजक धर्मेन्द्र बास्तोला कञ्चन, सहिद कृष्णसेन इच्छुककी जीवन संगिनी प्राध्यापक तक्मा केसीले सहिद इच्छुकका योगदानको चर्चा गर्दै सच्चा क्रान्तिकारीहरुबिचको एकता र क्रान्तिको ठोस तयारीको प्रक्रियामा अगाडि बढेर मात्र इच्छुकका अधुरा सपना पुरा गर्न सकिने विचार व्यक्त गर्नुभयो । उहाँको सहादतको २३ वर्षमा पनि इच्छुकका सपना पुरा हुन नसकेको भन्दै उहाँहरुले जनयुद्ध सञ्चालन गर्ने तत्कालीन नेकपा (माओवादी)का अध्यक्ष तथा जनमुक्ति सेनाका कमाण्डरले गरेको धोका र गद्दारीका कारण नै इच्छुकका ती सपना पूरा हुन नसकेको स्पष्ट पार्नुभयो ।

प्रमुख अतिथि चैतन्यले उदात्त र निचको सौन्दर्यशास्त्रीय मान्यताको चर्चा गर्दै इच्छुकलाई जनयुद्धको उदात्त आदर्शको नायकको रुपमा चित्रण गर्नुभयो । जनयुद्धको बेला नायकको भूमिका खेलेका प्रचण्डले नै अहिले खलनायकी चरित्र प्रदर्शन गरिरहेको भन्दै प्रचण्डको चरित्रलाई ‘निच’को संज्ञा दिनुभयो । उहाँले सच्चा क्रान्तिकारीहरु बिचको एकता नै आजको अपरिहार्य आवश्यकता भएको भन्दै हालै मशालसँगको एकता लगत्तै महाधिवेशनमा गएर नयाँ क्रान्तिकारी पार्टी निर्माण गर्ने र क्रान्तिको ठोस तयारीको प्रक्रियामा अगाडि बढ्ने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा इच्छुक सांस्कृतिक प्रतिष्ठानका पूर्व अध्यक्ष डा. ताराकान्त पाण्डेयको स्मृतिमा पनि एक लाख बराबरको पुरस्कार कोषको स्थापना गरिएको जानकारी गराइएको थियो ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष मित्रलाल पंज्ञानीको अध्यक्षता तथा सदस्य सचिव मोदनाथ मरहठ्ठा÷गौरी देवकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य हिरामणि दुःखीले राख्नुभएको थियो । कार्यक्रममा कवि बलराम तिमल्सिनाले कविता वाचन गर्नु भएकाे थियाे ।

कार्यक्रममा इच्छुकको ‘प्रतिबन्ध’ नामको गीत सामना सांस्कृतिक परिवारका कलाकारहरु अनिस तामाङ र अमिट तामाङले प्रस्तुत गर्नुभएको थियो । रक्तिम सांस्कृतिक परिवारका तर्फबाट नारायण शर्माले क्रान्तिकारी गीतमा जीवन्त अभिनय प्रस्तुत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।