0 COMMENTS

जेठ ८, काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मंगलबार सार्वजनिक गरिएको विवरणअनुसार लामिछानेले आफ्नो नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा पैत्रिक सम्पत्तिस्वरुप रहेको उल्लेख गरेका छन् ।

मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुको विवरण सार्वजनिक गर्ने निर्णय गरेअनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइटमा सम्पत्ति विवरण सार्वजनिक भएको छ । विवरणअनुसार, लामिछानेको नाममा नेपाल बैंक लिमिटेडमा १ लाख ५ हजार र ग्लोबल आईएमई बैंकमा ५ हजार रुपैयाँ छ । उनको नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा छ ।

पैतृक सम्पत्तिबाट प्राप्त यो जग्गाबाहेक अरु सबै श्रीमतीको निकिता पौडेलको नाममा भएको उनको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । निकिताको नाममा बुढानिलकण्ठ-८ मा ५ आना जग्गामा बनेको घर छ । विभिन्न व्यवसाय सञ्चालनबाट आएको रकमबाट ३ करोड ७५ लाख रुपैयाँमा घर खरिद गरेको भनिएको छ । घर किन्दा बैंकबाट लिएको २ करोड ५० लाख रुपैयाँमध्ये अब १ करोड ५० लाख तिर्न बाँकी रहेको सम्पत्ति विवरणमा भनिएको छ ।

लामिछानेले श्रीमतीको निकिता पौडेलसँग ८० तोला सुन रहेको छ । त्यसको स्रोत भने अधिकांश बुबाआमाले दिएको र केही खरिद गरेको उल्लेख गरिएको छ । त्यस्तै, १५/२० केजी चाँदी रहेको भनिएको छ । त्यो २५० देखि ३ सय प्रति तोला भएको बेला खरिद गरेको भनिएको छ । अन्य नगद निकिता पौडेलको नाममा छ । श्रीमतीको निकितासँग गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सको १० रोपनी ८ आना जग्गाको २५ प्रतिशत शेयर रहेको पनि गृहमन्त्री लामिछानेले उल्लेख गरेका छन् ।

निकिताको नाममा टाटा नेक्सनको विद्युतीय कार रहेको भनिएको छ । ४२ लाख रुपैयाँमा दुवैको निजी आय र बचतबाट २०७९ सालमा कार खरिद गरेको भनिएको छ । निकिता नारी टेलिभिजन र गोपीकृष्ण कामाक्ष मिडिया कम्पनीको सञ्चालक रहेको उल्लेख गरिएको छ । नारी टेलिभिजनको हालको मूल्य ३ करोड रुपैयाँ र कामाक्ष मिडियाको हालको मूल्य १ करोड रुपैयाँ रहेको सम्पत्ति विवरणमा खुलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।