0 COMMENTS

जेठ ८, काठमाडौँ । सरकारले प्रतिनिधि सभाबाट राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक फिर्ता लिएको छ । मंगलबार निर्धारित समयभन्दा ढिलो सुरु भएको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेससहितका विपक्ष दलहरुको वेल घेराउ र नाराबाजीका बीच उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पेश गरेको प्रस्तावलाई बहुमतले स्वीकृतको घोषणा सभामुख देवराज घिमिरेले गरेका हुन् ।

सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक २०८० सभामा पेश गर्न समय दिए । त्यसपछि मर्यादापालकको सुरक्षा घेरामा उभिएर गृहमन्त्री लामिछानेले सो विधेयक पेश गरे । त्यसपछि सभामुखले विधेयक फिर्ता लिने प्रस्तावमा कसैको विरोधको सूचना नपरेको उल्लेख गर्दै बहुमतले विधेयक फिर्ता लिन समर्थन गरेको घोषणा गरेपछि विधेयक फिर्ता भयो ।

तर, सो विधेयकबारे सभामुखले सांसदहरुको ध्यानाकर्षण गराउँदा सदनमा प्रतिपक्षी बेञ्चमा बसेका नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र हात उठाएर असहमति जनाएका थिए । त्यस क्रममा प्रमुख विपक्षी नेपाली कांग्रेससँगै राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरुले पनि उठेर विरोध गरिरहँदा सत्तारुढ सांसदहरु मात्र आआफ्नो सिटमा बसेका थिए । तर, सभामुख घिमिरेले विधेयकको विपक्षमा विरोधको मत नआएको भन्दै बहुमतले विधेयक फिर्ता लिएको घोषणा गरे ।

यो विधेयक फिर्ता गरेर सरकारले पार्टी फुटाउन सहज बनाउन लागेको विपक्षी र सत्तापक्ष नेकपा एकीकृत समाजवादीका नेताहरुले चिन्ता व्यक्त गरेका छन् । तत्कालिन देउवा नेतृत्वको सरकार एमाले विभाजन गर्न सजिलोको लागि अध्यादेशमार्फत दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको थियो । संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुगेका दल विभाजन गर्न पाउने व्यवस्थाकै कारण माधव कुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भएको थियो ।

सरकारले विधेयक फिर्ता लिएर अध्यादेश वा सहज हुने प्रावधान राखेर प्रस्तुत गर्ने काँग्रेसले आशंका व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।