२०६३ भाद्र १९ गते काठमाडौंको भद्रकालीमा विभिन्न मागहरु लिएर बेपत्ता परिवारहरू धर्ना बस्न गयौँ । लामो भूमिगत जीवनबाट खुल्ला जीवनको सुरुवात नौलो र अप्ठेरो लागिरहेको थियो । मुख्य गरी असी प्रतिशत जनतामा त हामीहरू खुल्ला नै थियौँ तर शहर अनि मुठ्ठीभर मान्छेहरूसँग मात्र भूमिगत भएको कुरा कसैलाई भनिरहनु परेन । तर पनि काठमाडौंमा मेरो लागि त्यस्तै भैरहेको थियो । पूर्ब, पश्चिम, उत्तर, दक्षिण केही पनि नजानेर ठाउँ पनि नचिनेर हैरान त भएकै थियो । जनयुद्धको आँधीमा नडराएको मन भित्र भित्र डराइरहेको थियो । तर पनि हाम्रा मान्छेहरूको अबस्था जानकारी हुनेछ । कि त हामी सहिद परिवारले आफ्ना मान्छेको जानकारी पाउनेछौँ । कि त हामी हाम्रा मान्छेहरूसँग हुनेछाैँ । त्यो मिठो दिन आइपुग्नेछ । त्यो दिनमा हामीहरू संसारका सबैभन्दा खुसी हुनेछौँ । बेपत्ता परिवारका यस्तै यस्तै कथनीहरूले मेरो मष्तिष्कमा बिम्ब र प्रतिबिम्ब दौडिरहेको थियो । बेपत्ता हुनुभएका डम्मर रानाभाट बाँके खजुराका आमा, माहादेवपुरी बाँके गाउँ मात्र होइन सिङ्गो बाँकेका सहिद तथा बेपत्ता योद्धाहरूकी आमा, राप्तीपारी कमलकी जीवन साथी, अन्जनाकी आमा, बेदप्रसादकी जीवनसाथी, आस्थाको भाउजू, सहेबी दिदी जो छोरी निर्मला सहिद भएपछि सहिद परिवार पङ्क्तिमा उभिनु भएको छ । तर पनि कसरी काहा मारे होला ? यस्तै बाँके बर्दिया मात्र होइन देशभरीबाट सयाैँ बेपत्ता र सहिद परिवारहरू अझ बेपत्ता पारिएकाहरूको बिचमा पीडा बिछोड मात्र होइन अस्थिरता छटपटाहटहरूको भुमरीमा म केन्द्रित भैरहेकी थिएँ । मैले छोडेर हिड्न पनि सकेकी थिइन फेरी बसेर त्यसको औपचारिक जिम्मेवारी पनि पाएकी थिइन । जिम्मेवारीको कासनले मुक्ति या मृत्युलाई किनारा लाउन अबसर दिन्छ तर याहाँ कुनै जानकारी बिनै उपस्थित भएकी थिएँ । म मात्र होइन हामी धेरै त्यही अन्योलतामा दिनभरी बसे पनि नारा, भाषण, रस्सा कस्सि चलिरह्यो । त्यही धर्ना बस्ने क्रममा जानकारी पाइयो भने राती गाडीमा सबैजनालाई लिएर जिल्लामा फर्किनु पर्ला भनेर सबै बाँके बर्दियाका हामीहरू त्यही योजनामा जुट्यौँ । त्यसैले बस्ने ठाउँ, खाने सामग्रीहरूको बारेमा हामीले केही पनि सोचेनौ । किनभने एक दुई दिन त हामीले जिल्ला छोडेपछि सहिद र बेपत्ता परिवारको राष्ट्रिय भेला हुँदै यहाँसम्म भोक, अनिदो, जाडो, घामहरूसँग लड्न सक्छौँ भन्ने दृढता सबैमा केन्द्रित भएको थियो । दिनभरी जसो हामीहरू नाराहरूमा भाषणहरूमा जुटिरह्याैँ ।
मलाई गर्व लागिरहेको छ, किनभने मलाई म सहिद परिवार हुँ भन्ने विषयमा थप जिम्मेवारीले थिचेको अनुभूति भैरहेको थियो । सहिद कमरेड ज्ञामप्रसाद चालिसे (आयाम) मेरो जीवनसाथीको हैसियतले मलाई जनक्रान्तिका सहिद परिवारहरूको समाजको केन्द्रीय भेलाद्वारा केन्द्रीय सदस्य हुने अबसर प्राप्त भएको छ । तर पनि गिरफ्तारपछि उहाँको कुनै भौतिक शरीरको कुनै जानकारी पाइएको छैन, तर पनि रेडियोले अनि चिसापानीको ब्यारेकबाट आउने कमरेड र जनताको आसय अनुसार उहाँलाई राखेको छैन भने अनुसार सहिदको पङ्क्तिमा देख्दा अनि मलाई केन्द्रीय सदस्य बनाउँदा कता कता हुनुहुन्छ भन्ने आसा टुटेको अनुभूति भैरहेको थियो । तर सबैलाई हेर्दै र आफू एउटा नेता हो भन्ने परिस्थितिले आफूलाई जबरजस्ती सामान्य महिलाबाट माथि उठाउन कोशिस गरँे । त्यो भन्दा अर्को विकल्प पनि मसँग थिएन । सानैबाट दु:खसँग सामना गर्ने बानी लागेकाले र घर परिवारसँग विद्रोह गरेर सबै पीडालाई एक्लै निल्ने आदत बसेकाले पनि यो मेरो जीवनको सबैभन्दा ठुलो र अप्ठेरो चट्टानलाई पनि निल्न कोसिस गर्दै थिएँ । यसलाई सामना गर्न देबु भाइ सान्ता दिदी, सर्मिला बहिनी सबैको सहयोग अनि एकताले सामना गरेर हल्का बनाउने कोसिस गरेँ । तर यो घाऊ बल्झेर भित्रभित्र भने आइरह्यो । सायद यसको यस्तै नियम हो । कमरेड आयामलाई बैरीहरूले आफ्नो नियम कानुनको खिल्ली उडाउँदै वीरतापूर्ण ढङ्गले ६२ दिनको चरम विभत्स यातना थोपरेर २०५८ मंसिर २६ गते गिरफ्तार पर्नुभएका उहाँलाई माघ २८ गते दोहोरो भिडन्तको नाटक मंचन गरी हत्या गरेपछि दुश्मनप्रति घृणा र जनताप्रतिको उत्तरदायित्व थप अरू बढिरहेको थियो । बेपत्ता परिवारसँग मेरो पनि पीडा संकेन्द्रित भैरहेको थियो । किनभने कमरेड आयामलाई कोहलपुरको बसपार्ककै साइडबाट सयाैँ मान्छेले देख्दादेख्दै गिरफ्तार गरी चौराहाबाट गाडीमा हालेर चिसापानी ब्यारेकमा लगि यातनाद्वारा आत्मसर्मपण गराउने र उहाँभित्रको आस्थालाई झिकिदिन सकिन्छ र उहाँलाई गलाउन थकाउन लागेका बैरीहरू आफै थाके, गले र अन्धा भए अनि षड्यन्त्रका थुप्रै तानाबानाको चक्रब्युहबाट विद्रोह गर्नु भएका वीर आयामको स्वाभिमान र आस्थाबाट विछिप्त भएका दुष्टहरूले आयाम सहित सयौँ नेपाली आमाका असल छोराछोरीहरूलाई भौतिक शरीर हामीबाट छिने । उनीहरूले हामीलाई तड्पाउने जीवनभरी पीडा दिइरहने कुटील चाल चले । त्यसैले दुश्मनहरूले गिरफ्तार गरेर हत्या गरेको स्वीकार गरेका छैनन् । तसर्थ मैले भित्रबाट चाहान्थेँ कि कमरेड आयाम लगायत सयौँ योद्धाहरूको गिरफ्तारी र हत्याको जानकारी कानुनी रूपमा नै पाउनु पर्छ । हैन भने म लगायत सयौँ हामीहरू बेपत्ता परिवारको यो आन्दोलन भित्र थियौँ र म पनि थिएँ । यो आन्दोलन र ती परिवारसँग मेरो नजानिदो गरी भावना, प्रेम, सद्भाव, आक्रोस, पीडा, विचार, खुसी, आदर र सम्मान मुटुभरीको ती वर्ग आफन्तसँग ती बेपत्ता आफन्तसँग निकटता बढ्दै गएको जिम्मेवारी महसुस भैरह्यो । म त्यहाँ प्रतिबद्ध हुँदै काममा सहभागी भैरहेकी थिएँ । साथमा बाबु ओजोन पनि थियो । दङ्ग परेर मेरो पछि पछि लागिरहेको थियो । यसमा मलाई गर्वानुभूति भैरहेको थियो ।
बूढाबूढी बुबा आमाहरू, सबै सहिद र बेपत्ता परिवारहरूले दिउँसोको घटना देखिरहेका थिए । जहाँ अस्थायी शिक्षकहरूलाई लछार पछार गर्दै लाठी चार्ज गरेर आन्दोलन बिथोल्ने र निरुत्साहित बनाएर अस्थायी शिक्षकका समस्या समाधान गर्न वर्तमान सरकार तयार छैन भन्ने पुष्टी गरिरहेको थियो । यो देखेपछि हामीलाई पनि चिसो पसिरहेको थियो । हाम्रा मागहरू पनि सरकारले सुन्ला र हाम्रो घाउमा मलम पट्टी लगाउन र परिवर्तनको नेतृत्व गर्ला भन्ने सवालमा सङ्का लागिरहेको थियो । हाम्रा मान्छेको सार्वजनिक गर्ने कुरा बिहानको उत्साह आसा बिस्तारै सूर्यसँगै अस्ताइरहेको अनुभूति भैरहेको थियो । चराका ताँतीहरू सूर्यसँगै पश्चिमतिर लागिरहे जस्तै हाम्रा आसाहरू सपनाहरू अस्ताइरहेका थिए । लाग्थ्यो, पुलिस आर्मीहरूका गतिविधिहरू हामीमाथि नै दमनको निरन्तरतामा अगाडि बढिरहेको छ । देशमा २०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलन र १० बर्से जनयुद्धको बेसमा जुन अधिकार जनताले ल्याएका थिए त्यसको अपहरण भएको आभास भैरहेको छ । पटक पटक हस्तक्षेप गर्न उनीहरू हाम्रो धर्ना बसेको ठाउँमा आउँदै जाँदै गरिरहेकै थिए । त्यसको प्रतिवाद नारा, भाषण, जुलुस र धकेलाधकेलबाट गरिरहेका थियौँ । हाम्रा कुनै पनि मागहरूको सम्मान र गम्भीरता बिना नै हामीलाई याहाँबाट हटाउने गैर जिम्मेवारी प्रदर्शनले आफ्नो प्रतिष्ठा कायम राख्नतिर भन्दा अर्को केही गतिबिधि थिएन । उही पुरानै शैली, उही रवाफ चलिरहेको थियो । लाग्थ्यो, प्राप्त लोकतन्त्र नयाँ होइन पुरानै ढङ्गले बोलीरहेको थियो । अब जनताको आधारभूत र विशिष्ट समस्याहरू राज्यले सम्बोधित हुन्छन् भन्ने सोचको कडी छिनिरहेको थियो । त्यसकै छाया प्रतिछायाको बेहरीमा मेरा सोचाइहरू, मात्र सोचाई र कल्पना हुडुलिइएका थिएनन् । ती यथार्थ धरातलमा परिणत हुँदै थिए ।
यस्तैबेला हामीलाई उनीहरूले चारैतिरबाट अझ बलियो घेरामा घेरे । हामीले पनि सशक्त प्रतिवाद गर्यौं । उनीहरू फेरि पछाडि हटे । झिसमिसे साँझले हामीलाई अँगालो हाल्दै थियो । हामी रात त्यही भद्रकाली अगाडि सडकमा बस्ने तरखर गर्दै थियौँ । पाल टाग्ने र आजको रात बिताउने बासस्थानको यो सङ्घर्ष तीव्र र घनिभूत हुँदै थियो । उनीहरूले हामीलाई तितरबितर पार्ने, बस्न नदिने तयारी गर्दै थिए । यो भिडन्तको मुखमा मैले काठमाडौको राम्ररी भेउ नपाएकी, नयाँ नयाँ भएकीले ओजोनको व्यवस्थापनले मलाई भित्र भित्र जलाइरहेको र गम्भीर बनाइरहेको थियो । तुरुन्त नै मैले दुईवटा काम गर्नु पर्दथ्यो । एक म त्यहाँ पार्टीको सिनियर थिएँ त्यसैले त्यहाँको सजिव रिपोर्ट गर्नुपर्दथ्यो । दोस्रोमा बाबुको व्यवस्थापनको बिकल्प तुरुन्तै मिलाउनुपर्दथ्यो । म तुरुन्तै साइड लागेँ र बाबुराम कमरेडलाई जानकारी दिएँ । ‘यहाँ अब बूढाबूढी, महिला र बच्चाबच्चीहरू मात्र छन्, हामीहरू माथी उनीहरूले सबै शक्ति लगाउन अन्तिम पोजिसनमा छन् । हामीतिर अगाडि बढिरहेका छन् । हातमा लाठीहरू, रडहरू, अस्श्रुग्यास र हतियारहरू लिएर सयौँको सङ्ख्यामा उपस्थित भएका छन् । उनीहरूले हामीलाई अशक्त, कमजोर, बिरामी, सेतै फुलेका कपालहरू, चाउरी परेका गालाहरू, महिलाहरू देखेर उत्साहित भएका छन् । हामीलाई हेपिरहेका छन् । हामीलाई कमजोर देखिरहेका छन् । त्यसैले कि त लड्न युवाहरू पठाउनु पर्यो कि त माथि कुरा गरेर यो आक्रमण रोक्नुपर्यो ।’ मैले सानो भाषण दिएँ । म तुरुन्तै गरिहाल्छु, सबैलाई तितर बितर नहुन र नआत्तिन उहाँले भनेपछि, म बाबुलाई जिम्मा लगाउनको लागि उपयुक्त मान्छे खोज्दै छिटोछिटो फर्कंदै गर्दा यो आउन लागेको आँधीभन्दा म अगाडि हुनै पर्दथ्यो । होइन भने मैले त्यो आँधीसँग सामना गर्ने भूमिका कमजोर हुन पुग्दथ्यो । मैले तुरुन्त नै बाबुको नजिक आएका बर्दिया बिक्रम भाइलाई भनेँ– ‘बिक्रमजी, अब पुलिस आर्मीहरूले हामीहरूलाई आक्रमण गर्ने तयारीमा छन् । उनीहरूले यी पालहरू फालेर हामीलाई यस बाटोमा बस्न नदिने र हाम्रा मागहरू पूरा नगर्ने बरू दमन गर्नेमा छन् । हामी रातभरी तितरबितर पर्न सक्छौ । तर हाम्रो कोसिस यी बूढाबूढी, महिला, बच्चाहरूको संरक्षण गर्नु हो । संरक्षण गर्नु भनेको आन्दोलनको, उत्साहाको, बिचारको, संरक्षण गर्ने भनेको हो । बिहानको उत्साहालाई निरन्तरता दिने हो । दुस्मनको कामलाई निरुत्साहित गर्ने हो । आफ्नो फासिष्ट सामन्तवादी सत्ता बचाई राख्नु उनीहरूको अन्तिम धर्म हो । त्यो उनीहरूको चरित्र पनि हो । त्यसैले यतिबेलाको स्थिति अत्यन्तै संक्रमणकालीन छ । त्यसैले ओजोनको संरक्षण तपाईले गर्नुहोला’ भन्दै ओजोनलाई विक्रमको जिम्मा लगाएँ । त्यति भन्दा नभन्दै उनीहरुले एउटी आमालाई टाउकोमा हानेको मैले देखेँ । म तुरुन्तै त्यहाँ पुगिहालेँ । जहाँ पाल तानातान भैरहेको थियो । ती आँशु, पीडा, बिछोड, रगतमा डुबिरहेका छटपटिरहेका मेरा सहिद तथा बेपत्ता आफन्तहरूलाई बुटहरूले कुल्चीरहेको, एकहोरो पिटिरहेको दृष्यको प्रतिवाद गरिरहेकी थिएँ । उनीहरुलाई धकेलिरहेकी थिएँ ।
जतिबेला म सडकमा पछारिएँ त्यतिबेला म रगताम्य भइसकेकी थिएँ । जब मलाई मेरो वरीपरी जमीन घुमेको आभाष भयो, म अडिन नसकने गरी ढलेँ । त्यसबेलासम्म कुनै चिज मेरो पछाडिबाट बग्दै बग्दै कम्मरको बेल्टमा गएर रुकिसकेर चारैतिर फैलिँदै थियो । मैले के होला भनेर बिस्तारै छामे, त्यो रगत रहेछ । तुरुन्त महसुस गरेँ टाउकोमा कतै गहिरो पीडा भैरहेको छ । मैले टाउको बिस्तारै छामे, रगतले भिजेको एउटा खाडल पनि रहेछ, जहाँबाट निरन्तर रगत बगिरहेको थियो । मैले तुरुन्तै एउटा हातले रगत बगिरहेको ठाउँमा दाबिरहेकी थिएँ । रगत कम भन्दा कम बगोस् । त्यो मेरो अपेक्षा मात्र थियो । त्यो भन्दा बढी मैले अरू पनि त गर्न सक्दिनथेँ । एक जना महिलाले हान्न लौरो उठाएको देखेँ र अर्कोले यसको टाउकोमा चोट लागेको छ । रगत बगेको देख्दैनस् । नहान, भनेको पनि देखेँ । तर एउटी पुलिस महिला आएर जो म सडकमा लडिरहेकी र उठ्न कोसिस गरिरहेकी थिएँलाई एक लात हानी । म फेरि ढलेँ, उनैले उठाउन खोजेको जस्तो गरी मेरो हाततिर हात लम्काई तर मैले त्यसको प्रतिवाद गरेँ र मैले पनि जमाएर लातले नै हानेर उनीहरूसँग जान बिरोध गर्दै भनेँ, ‘ए दुष्टहरू मलाई नछोऊ । म तिमीहरूसँग जान्न । हामीलाई हान्ने । अनि यो तिमीहरूको लोकाचार चाहिँदैन । ती सामन्त, धनी, फटाहा, कामचोरहरूको संरक्षकहरूसँग म जान चाहाँदैनथेँ । उनीहरूले जे पनि गर्न सक्दथे । म मरे पनि मेरा वर्गआफन्त आमा, बाबा, दाजुभाइ, दिदी बहिनीहरूसँग सँगै जान चाहान्थेँ । तर यतिबेलासम्म बैरीहरूले सबैलाई तितरबितर पारिसकेका थिए ।
ती कायरहरू, हाम्रा बूढाबूढी बुबा आमा बालबच्चाहरूसँग त्यतिबेलासम्म थरथरी काप्दै थिए । त्यतिबेला टीका कँडेल बुबा, सोनु, देवराज कताबाट हो आउनुभयो र मलाई उठाउन मद्दत गर्नुभयो । थोरै भए पनि नारा लाग्यो । ‘हाम्रा मान्छे मार्न पाउँदैनौ, अर्को तिरबाट ‘ए मार मार कति मार्छौ एक मारे सय हुन्छौ’ भन्दै नारा लागिरहेको थियो । हामी बिस्तारै वीर हस्पिटलतिर लाग्याँै । बिच बिचमा दुश्मनको आउने घेराहरूसँग झडपहरूसँग सामना गर्दै सहिद गेटमा पुग्दा आफुलाई एउटी आमा भएको सम्झना भयो र मैले फुच्चेलाई खोजेँ । सबैसँग सोधे, तर फुच्चेको कुनै नामोनिसान थिएन । त्यतिबेला मलाई मेरो भन्दा पनि सहिद कमरेड आयामको उपहार भरखरै छ वर्षमा दौडिरहेको थियो । के बाबुलाई बैरीहरूले बाँकी राखे होलान् ? म अलि आत्तिरहेकी थिएँ । एउटी आमा, आफ्नो बच्चाप्रति कति तड्पिन्छे र खोजीमा कति भौतारिन्छे ? जो कोही आमाले महसुस गर्ने कुरा हो । तर मलाई साथमा अर्को कुरा पनि याद आइरहेको थियो । म त केबल बाबुको आमा मात्र होइन दुनिया बदल्ने एउटा असल सिपाही पनि हुँ । म बिचलित हुनुहँुदैन । मेरो बाबु भाइ बिक्रमजीसँग छ । केही भएको छैन । बरू अरूलाई के के भएहोला ? टक्रक्क मैले सहिद दिलबहादुर रम्तेललाई सम्झन पुगेँ । जो भरखरै एघार वर्षका थिए । कालीकोटमा दुधे बच्चा छ महिनाकालाई कुन्दाले हानेर मारे । तिनै इतिहास सम्झिरहेकी थिएँ । जस्लाई जल्लादहरूले निर्ममताका साथ हत्या गरेका थिए । उतार चडाव, नराम्रो राम्रो सोचाईका तरेलीमा म वीर हस्पिटल पुगेको पत्तै भएन ।