0 COMMENTS

नेपालका हिन्दु महिलाहरूले परम्परागत संस्कृति र पर्वका रूपमा उत्सवसहित मनाउने गरेको तीजको दिन असोज १ गते बिहान १० बजेतिर अधिवक्ता कान्तिराम ढुङ्गानासँग फोनमा संवाद भयो । उहाँले भन्नुभयो, ‘तीजले केही प्रभाव पारेको छ कि छैन ? नत्र आज भेट हुन्छ कि ?’

कान्ति सरको वाक्य टुङ्गिन नपाउँदै मैले हतारमा भनेँ, ‘मलाई त खास केही पारेको छैन सर, हजूरलाई केही प्रभाव पारेको छ र ? हजूरकी म्याडम व्रत बस्नुहुन्छ होला !’
उहाँले भन्नुभयो, ‘होइन म्याम, मैले त उनलाई मेरो लामो आयुका लागि व्रत वस्नु पर्दैन, बरु मेरो आयु पनि तिमीलाई नै थपिदिन्छु भनेको छु ।’

अनौपचारिक रमाइलो गफपछि कामका बारेमा केही कुरा गरेर फोन राखियो ।

अधिवक्ता कान्तिराम ढुङ्गानासँगको फोन संवादपछि मेरो मनमा केही कुरा खेले । अधिवक्ता ढुङ्गानाजस्तै आधुनिक जमानामा रूढिवादी परम्परासँग लड्न र केही माथि उठ्न प्रेरित गर्ने पुरुषहरूको सङ्ख्या यो समाजमा कति प्रतिशत होला ? यस्तै गरी हरेक शिक्षित पुरुष घरको मालिक हुने हाम्रो नेपाली समाजमा यस्तै आफ्नो घरका नारीहरूलाई माथि उठ्न प्रेरित गर्ने पुरुषहरू हरेक घरमा भैदिएको भए हामीले चेतनाको विकासमा निकै फड्को मारेका हुने थियौँ ।

साँच्चिकै तीजको दिन बजारमा रातै वस्त्र पहिरिएका र गहनाले धपक्कै बलेका देखिने नारीहरूदेखि यो दिनमा धोक्रोमा मकै बोकेर पोल्न बागमती पुलको छेउमा बसेका नारीहरूलाई देखेँ र फेरि आफ्नै परिवारतिरै फर्किएँ । किशोर अवस्थाको सम्झना गरेर एकछिन ‘नोस्टाल्जिक’ बनेँ । त्यो बेला आमा, काकीहरू, दिदीहरू र भाउजूहरूको लहैलहैमा लागेर देखासिकी गर्दै व्रत बसिन्थ्यो तर दिउँसो भएपछि भोक लाग्थ्यो र केही न केही खानेकुरा लुकीलुकी खाइन्थ्यो । फेरि मेरा बुबा साधारण परिवारको भए पनि अलि प्रगतिशील चिन्तन राख्ने भएका कारण अरूहरूको घरमा जस्तो यस्ता परम्परावादी पर्वहरूमा निर्लिप्त हुन हामीलाई बाध्य पार्नुहुन्नथ्यो । त्यो बेलादेखि आजसम्म आउँदा पुरुष वा श्रीमान्को लामो आयुका लागि व्रत बस्ने कष्ट गरिएको छैन । बरु श्रीमानज्यूसँग हरेक दुःख–सुख, आँसु–हाँसो बाँडेर साथ दिने कोसिस गरिएको छ । सकेसम्म भावनाको सम्मान गर्ने र स्वास्थ्यको ख्याल गर्ने कोसिस गरिन्छ । मलाई लाग्छ, व्रत बसेर खुट्टाको पानी खाएर जीवनसाथीको आयु लामो हुने भए एक दिन त के हप्ता–दस दिनसम्म पनि कठोर उपवास बस्न तयार हुन्थँे । स्वास्थ्य विज्ञानका कुरा सुनेअनुसार मान्छे खानाबिना एक महिनाजति पनि बाँच्न सक्छ रे । तर मलाई यस्तो रूढिवादी परम्परामा विश्वास नभएकै कारण समाजको यो परम्परालाई निरन्तरता दिने कोसिस कहिल्यै गरिनँ ।

पहिलेको समयमा तीजमा छोरीचेलीहरू जम्मा भएर मीठो–मसिनो खाने, दुःखसुखका गीत गाउने, रमाइलो गर्ने गर्थे । त्यस्तै बिहेमा रत्यौली खेल्ने चलन पनि थियो । दिनहँुजसो काममा जोतिने महिलाहरूले एक दिन आराम गर्ने, रमाइलो गर्ने दिनका रूपमा उपयोग गरेको मानिन्छ । आजभोलि सरकारी कार्यालयहरूमा तीजको दिन बिदासमेत दिने कुरालाई राम्रो पक्ष मान्न सकिन्छ तर आजभोलि तीज विकृत बन्दै गएको छ । यो निकै भड्किलो र उत्ताउलोसमेत बन्दै गएको छ । यसले मौलिकता गुमाउँदै गएको छ । आजभोलि तीजमा अस्वस्थ खालको प्रतिस्पर्धा बढेको छ । गहना र सारी प्रदर्शनको प्रतिस्पर्धा बढ्दै गएको छ । नेपाली समाजमा तीजले मौलिकता जोगाउनेभन्दा पनि दलाल पुँजीवादी अर्थव्यवस्थालाई मलजल गर्ने काम गरेको छ । दलाल पुँजीवादी अर्थव्यवस्थाको बजारले सौन्दर्यका सामान, गरगहना र लत्ताकपडामा अर्बौं पैसा लगानी गराउँदै करोडौँ रकम पलायन गराएको छ । कति महँगो सारी किन्ने र कति धेरै गहना लगाउने भन्ने धनाढ्य, नवधनाढ्य वर्गका महिलाहरूबीचको प्रतिस्पर्धाले गर्दा तीज मौलिकभन्दा भड्किलो बन्दै गएको हो । तीजको अघिल्लो दिन दर खाने चलन भए पनि एक महिनाअघिबाटै दर खाने कार्यक्रमका नाममा तडकभडक मच्चाइनु, अझ त सरकारी कार्यालयहरूले नै यस्ता कार्यक्रम राख्ने गर्नाले जतिवटा दर खाने कार्यक्रम भए त्यतिवटा सारी र गहना–सेट चाहिने अस्वस्थ प्रतिस्पर्धा हुँदा समाजको यो मनोविज्ञानलाई बुझेर बजारले पनि त्यस्तै उत्पादन भित्र्याउने गरेको छ । यसले कुनै उत्पादन र उपलब्धिमूलक काममा भन्दा पनि कृत्रिम सौन्र्दयका फजुल साधनहरूमा बेहिसाब रकम खर्च भइरहेको छ ।

तीजले पछिल्लो समयमा वर्गीय विभेदको खाडल ठूलो बनाउँदै लगेको छ । समाजमा हुनेखाने र हुँदा खानेको जीवनमा फरकपन बढाउने गरेको छ । महिलासम्बन्धी शम्भु राईको एउटा गीत छ–

झुपडीकी नारी भन्छे– तरकारीमा नुन छैन
महलकी नारी भन्छे– मागेजति सुन छैन ।
झुपडीकी नारी भन्छे– लाज ढाक्ने सारी छैन
महलकी नारी भन्छे– घुम्न नयाँ गाडी छैन ।

यो गीतले भनेजस्तै आज नुन खोज्ने र सुन खोज्नेका बीचमा गहिरो खाडल बन्दै गएको छ । केही समयअगाडि हामी १५ जना साथी एउटा तीज पार्टीमा गएका थियौँ । सबैले सारी लगाउने सल्लाह भएपछि हामी सबैले सारी लगायौँ । मैले सिफनको सामान्य सारी लगाएकी थिएँ । हामीसँगै गएकी एकजना हुनेखाने परिवारकी साथीले अर्की एक साथीलाई भनिहाली, ‘ऊः त्यो फलानीले त कस्तो सस्तो सारी लाएर आएकी ! त्यसको सारीभन्दा राम्रा सारी म त घरमा काम गर्नेलाई दिएर पठाउँछु… ।’ उसले त्यस्तो कुरा गरेको सुनेपछि मलाई के भनौँ, कसो भनौँ भयो । मैले भनेँ, ‘अब के गर्ने त ! जोसँग जे छ त्यही लगाउने त हो, भैहाल्छ नि ।’ मैले पनि आफूले लगाएको साधारण सिफनको सारीको समेत बचाउ गर्दै हुनेखाने परिवारकी साथीलाई जबाफ दिएकी थिएँ ।

मैले प्रसङ्ग उठाउन खोजेको कुरा हो– आजभोलि तीज पर्वका नाममा प्रयोग हुने पहिरन र गहनाका कारण उसको आर्थिक हैसियत नापिन्छ र भन्न थालिन्छ– उसको श्रीमान् के काम गर्छ ? कति कमाउँछ ? के जागिर गर्दछ ? त्यसमा पनि जागिर निजी हो कि सरकारी हो ? कमाउन कता गएको छ ? साउदी–कतार–मलेसिया–दुबई गएको छ कि जापान–कोरिया–अस्ट्रेलियामै छ ? कि अमेरिकै पुगेको छ ? यस्तो चर्चाले ठाउँ पाइरहेको छ । यस विषयमा बढी चर्चा गर्नमा महिलाहरू नै अगाडि हुन्छन् । मान्छेले आर्थिक हैसियतअनुसारको पहिरन गर्दछ भन्ने मनोविज्ञान छ । यसले पनि आजभोलिको भड्किलो तीजलाई मानिसको आर्थिक हैसियत नाप्ने पर्व बनाउन थालिएको छ । यसो हुँदा यसप्रकारको पर्वमा हुनेखानेले औकात प्रदर्शन गर्ने हुन्छ । हुँदा खानेले हीनता व्यक्त गर्ने हुन्छ र यसको अझ बढी दबाबमा मध्यम वर्ग छ । यो वर्गलाई गरिबजस्तो पनि देखिनु भएन, धनीजस्तो देखिन औकातले भ्याउँदैन । अनि भएनभएको ऋण, ब्याज, सापटी, देखासिकी गरेर जसरी पनि पैसा व्यवस्था गर्न र आफ्नो औकात कृत्रिम रूपमा बढाएर प्रदर्शन गर्न बाध्य हुनुपर्ने अवस्था छ । यो संस्कृति वा पर्व होइन, दलाल पुँजीवादले भित्र्याएको विकृति हो ।

मौलिक संस्कृति जोगाउन घरमा पकाएको खानेकुरा, दही, केरा, खिर, रोटी खान छोडेर होटेल र रेस्टुरेन्टमा पुगेर तारेका, भुटेका मसलायुक्त, डढेको तेलमा पकाएका अवस्थ खानेकुरा, त्यो पनि नसालु पदार्थ रक्सी र बियरसँग खानु भनेको साम्राज्यवादी संस्कृतिको प्रभावलाई प्रोत्साहन दिनु, आफ्नो सभ्यता–संस्कृति सङ्कटमा पार्नु मात्र होइन, आफ्नो स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्नु पनि हो । आज तीजको मौलिकता र मर्ममाथि जबर्जस्ती गरिएको छ, आफ्नोपन हराएको छ । आयातित संस्कृति लादिएको छ । तीजमा बनपाखा र मेलापातका गीत कम सुनिन्छन् । हिन्दी र अङ्ग्रेजी र्याप–पप गीतहरूको रजगज छ । त्यसैले तीज मौलिक पर्व नभई आफ्नो औकात प्रदर्शन गर्ने, भ्रष्ट बनाउने, देखासिक ी गर्ने कृत्रिम र ऐँजेरु पर्व बनाउन लागिएकाले आधुनिक मानव समाजको मनोविज्ञान विचलित हुँदै गएको छ । यसमा सचेत बन्न, समयमै खबरदारी गर्न र मौलिकता जोगाउनेतिर लाग्न जरुरी छ ।

स्वास्थ्यको दृष्टिकोणले बेलाबेलामा एक दिन निराहार बस्नु राम्रो मानिए पनि श्रीमान्को खुट्टा धोएको पानी खानु भनेको दासत्व स्वीकार्नु हो । स्वास्थ्य विज्ञानले एक दिन खाली पेट बस्दा पेट र पाचन क्रियालाई आराम पुग्ने हुनाले राम्रो हुने मान्दछ । अध्यात्मवादले त्यसको उल्टो व्रतलाई पाप–धर्मसँग जोड्छ । विज्ञान–प्रविधिको उच्च विकास भएको आजको युगमा धर्म र अन्धविश्वासलाई विश्वास नगरी विज्ञानलाई विश्वास गर्नेहरू मङ्गलग्रह र चन्द्रमामा मानवबस्ती बसाउने उपायको खोजीमा छन् । दिनरात ब्रह्मान्डको अध्ययन गरेर नयाँनयाँ आविष्कारहरू गरिरहेका छन् । तर हाम्रोजस्तो पछौटे समाज र पछौटे चेतना भएको समाजका मानिसहरू आजसम्म पनि श्रीमान् (कतिपयका श्रीमान् त २४ घन्टे जँड्याहा र रातदिन अर्कैसँग बास बस्ने नैतिकताहीन, असभ्य र असांस्कृतिक पनि हुन्छन्) को खुट्टा धोएको पानी खाए पवित्र भइन्छ भन्ने अन्धविश्वासमै निर्लिप्त छन् । ढुङ्गाको मूर्तिलाई भगवान सम्झेर पूजा गर्छन् । यहाँका पाखण्डी धर्मभीरुहरू मरिमेटेर यसको बचाउ गर्छन् । त्यसैले त माक्र्सवादले भनेको छ– लामो समयदेखि विज्ञान र धर्मबीच युद्ध भइरहेको छ र यो केही समयसम्म हुनेछ । अन्त्यमा विज्ञानको विजय हुनेछ ।

धर्मशास्त्रमा तीजसम्बन्धी एउटा पूराकथा वा मिथक छ– सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् तर पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि उनले साथीहरूलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्रशुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको हो ।

यसरी धर्मशास्त्रमा देखाइएका महादेव पति बरदान पाउने पार्वतीको प्रेमकहानीको प्रसङ्ग पनि काल्पनिक हो र ती दुवै पात्र काल्पनिक हुन् । के बुझ्न आवश्यक छ भने वास्तविक जीवनमा यिनीहरू थिएनन् । मातृसत्ताको विघटन पनि महिलामा भएको विद्रोही चेतनालाई रोक्नका लागि शासक वर्गबाट रचिएको सुझबुझपूर्ण कदम थियो । महिलाहरू शक्तिशाली भएको समयमा तत्कालीन शासकहरूले महिलामाथि दमन गर्न प्रयोग गरिएको काल्पनिकता र हथकण्डा मात्र थियो यो । यस्ता विभिन्न खालका विभ्रमहरू पैदा गरेर हिन्दुधर्मले महिलाहरूलाई बच्चा जन्माउने, घरेलु दासको काम गर्ने, यौनचाहना मेटाउने साधनका रूपमा लिएको छ र महिलालाई दोस्रो दर्जाको उपमा प्रदान गरेको छ ।

तीजको भोलिपल्ट पञ्चमीको व्रत लिइन्छ । यो दिन हाम्रा आमा, दिदी, भाउजू र काकीहरू ३६५ वटा दतिउनले दाँत माझेर केकेको पूजा गर्छन् । १४–१५ वर्षको उमेरमा मलाई जिज्ञासा पैदा भयो र एकजना दिदीलाई सोधेकी थिएँ– दिदी, दतिउन (हाम्रो मध्यपश्चिमतिर त्यसलाई उल्टे कुरो भनिन्छ) ले दाँत माझे के हुन्छ ? दिदीले भन्नुभयो, ‘तिमीहरू विवाह नभएकाहरू राम्रो श्रीमान् पाऊँ भनेर तीजको व्रत बस्ने हो । हामी विवाह भएकाले श्रीमान्को लामो आयु होस् भनेर बस्ने हो । पञ्चमीको व्रत भनेको आइमाईहरू महिनाबारी हुँदा दाजुभाइहरूलाई गल्तीले पनि छोइएको छ भने पाप लागेको हुन्छ । त्यसलाई पखाल्नका लागि हो ।’

धर्मशास्त्रले भनेअनुसार महिलाले पाप पखाल्न बस्ने हो श्रीपञ्चमीको व्रत । ल अब यसलाई महिलाले पाप पखाल्न व्रत बस्नुपर्दछ रे, ठीक छ मानौँ । रजस्वला महिलाको निश्चित उमेर पुगेपछिको शारीरिक–मानसिक विकासको अवस्था यो पाप हो भने पुरुषहरूको पनि त निश्चित अवस्था पुगेपछि शारीरिक विकास हुन्छ । पुरुषहरूले पनि यस्तै दतिउन टोक्ने वा यस्तै अन्य केही गर्नुपर्दछ कि पर्दैन ? हो, पर्दैन भने महिलालाई मात्र किन यो नियम लागू भयो ? अब अर्को कुरा पनि भनाैँ ल महिलाले वर्षभरिमा महिनाबारी भएको बेला दाजुभाइलाई गल्तीले छोएकोमा पाप पखाल्ने हो भने हाम्रो समाजमा चर्चित निर्मला हत्याकाण्ड, भगीरथी हत्याकाण्डजस्ता थुप्रै बलात्कारपछिका हत्याकाण्डहरूमा संलग्न पुरुषहरूको पाप कसरी पखालिन्छ त ? त्यस्ता जघन्य सामूहिक बलात्कार र हत्याकाण्डका ‘पापी’ हरूको ‘पाप’ कसरी पखालिन्छ ? यतातिर धर्मशास्त्र किन मौन छ ? महिलाको पाप बगाउनुपर्छ भने पुरुषको पनि त पाप बगाउनुपर्ला नि ! हो, त्यसकारण हामी आधुनिक समाजका महिलाहरूले बुझ्नुपर्छ– परम्पराको रक्षाका नाममा हुने यसप्रकारका गलत संस्कृति र संस्कारका विरुद्ध सङ्घर्ष गर्नुपर्छ, सचेत बन्नुपर्छ ।

माक्र्सवाद भनेको विज्ञान हो । विज्ञानले जितिरहेको यो समयमा अध्यात्मवादको पराजय सम्भव छ । हामी परम्परालाई जोगाउने नाममा उत्ताउला, उच्छृङ्खल, भड्किला गतिविधि नगराैँ । नारी दिवसका दिन मात्र महिला मुक्तिका नारा लगाएर केही हुँदैन । दासताको साङ्लो र बन्धनबाट मुक्त हुन हाम्रो दिमागबाट आफैँ मुक्त हुने प्रयास गरौँ । सामन्ती सत्ताले थोपरेका कुसंस्कारहरूलाई बदलाैँ र वैज्ञानिक बनाआँै । समाजको बन्धनबाट मुक्त हुन पहिला आफ्नो परम्परागत चेतनाबाट मुक्त होऊँ । मौलिक संस्कार र संस्कृतिहरू निर्माण र विकास गरौँ । मानिसले आफ्ना लागि निर्माण गरेका कुनै पनि संस्कार, संस्कृति र पर्वहरूले मानिसकै मानमर्दन गर्ने र मानिसलाई मानिसबाटै अलग पार्ने वा उचनिच बनाउने हुनु हुँदैन, मानव जाति समान अस्तित्व र महत्वको छ भन्ने कुरा स्थापित गर्न जीवनवादी र वैज्ञानिक चाडवर्पहरू निर्माण र विकास गरौँ । अन्धविश्वास, रूढिवाद अनावश्यक प्रतिस्पर्धाले हामीलाई अग्रगामी होइन, पश्चगामी बनाउँछ । त्यसैले मानवमुक्तिका लागि माक्र्सवादलाई जीवन व्यवहार बनाऊँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।