0 COMMENTS

 

माननीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठज्यू,
गृह मन्त्रालय
सिंहदरबार, काठमाडौं
विषयः खुला पत्र

नमस्कार म क्रिसला न्यौपाने, आज मेरो जन्मदिन,म मेरो जन्मदिने आमाको न्याय खोजिरहेछु । सर्वप्रथम हामी पीडित दाजुबहिनीको तर्फबाट तपाईँलाई हार्दिक बधाई एवम् उत्कृष्ट कार्यकालको शुभकामना ।
आज हामी यो पत्र लेख्न बाध्य छौं, तपाईंले एक कार्यक्रममा बोलेको कुरा हामीले सम्झिरहेछौं र हामीलाई पनि न्यायको आशा पलाएको थियो र छ । महिला हिंसा गर्नेलाई कडाभन्दा कडा कारबाही गरिने छ । यहाँ महिला हिंसा मात्रै होईन घरपरिवारवाट १५–१६ घण्टा थुनेर एक निर्दोष महिला मारिएको छ र पनि कुनै अनुसन्धान भएको छैन । अब हामी तपाईंलाई कसरी विश्वास गरौं ? जसको नेतृत्वमा तपाईं स्वयं हुनुहुन्छ । हामी एउटी निर्दोष आमा कमला सुबेदी न्यौपानेको हत्या र हत्यारामाथि गहिरो अनुसन्धान भएर कानुनी कारबाही होस् भनेर भौतारिरहेका छौं । तपाईंसँंग उपस्थित भएर हाम्रा पीडा सुनाउने अवसर प्राप्त नभए पनि तपाईँले भनेको त्यो कुरा सञ्चारमाध्यम मार्फत थाहा पाएपछि तपाईंप्रति हाम्रो आशा पलाउनु स्वाभाविक नै हो ।
हामी जति ठाउँमा न्यायको खोजीमा भौतारिएर पुग्यौ, त्यहाँ सहयोग र आश्वासन पाएकै छौं तर जुन ठाँउ, जिल्लाप्रहरी कार्यालय, स्याङ्जाबाट सहयोग पाउनु पर्ने हो त्यो हुन सकेन । राम्रो अनुसन्धान त भएन भएन, हाम्रो मनमा लागेका कुरा पनि सुनिदिने कोही भएन, उल्टै हामी पिडितमाथि लाठी र बुट प्रहार भै रहे । प्रहरी परिचालन गरेर हाम्रा विरूद्ध लाग्ने काम भैरहेछ । हामी दिनहुँ जिल्लाप्रहरी कार्यालय स्याङ्जा र जिल्ला अदालतमा न्यायको हार–गुहार मागिरहेछौं तर पनि हाम्रो पीडा सुन्न कोही तयार छैन । हामी न्याय माग्न हिडी रहेका छौ । हाम्रो अगाडिपछाडि प्रहरी हिँडिरहेका छन् । लाग्छ, अहिले हाम्रा लागि लोकतन्त्र होइन जहाँनिया राणातन्त्र छ, जहाँ दुईशब्द बोल्न र बोलेको सुनिदिन कोही तयार छैनन् । घटनाको विषय त तपाईँलाई पनि अवगत नै होला, नभए पनि अब यस विषयमा पक्कै पनि चासो लिनुहुनेछ । भुटानी शरणार्थी प्रकरणमा तपाईँको अडान, निर्णय देख्दा हामीलाई पनि आमाको न्याय प्राप्ति हुन्छ भन्ने आशा लागि रहेछ । अनि अर्को कारण तपाईं एक कार्यक्रममा बोलेको कुरा र हामी भुईँमन्छेलाई न्याय दिने, निर्णायक ठाउँको अनुसन्धान गर्ने गृह मन्त्रालयको नेतृत्वमा स्वयम् हुनुहुन्छ तर पनि हाम्रो आवाज वन्द भएका छन् । तपाईंको मातहत रहेको जिल्लाप्रहरी कार्यालय, स्याङ्जाले तपाईंको कुरालाई गिज्याइ रहेछन् जस्तो लाग्छ । उनीहरू हाम्रो आमा कमला न्यौपानेलाई मार्ने मान्छे कसरी जोगाउने र भगाउने भनेर मात्रै लागि रहेछ । अब भन्नुस्, हामी पीडित कसरी तपाईं बोलेको कुरा पत्याउँ ? हाम्रो आमा कमला न्यौपानेले न्याय पाउनु हुन्छ भनेर । त्यही भएर आज तपाईंलाई यो पत्र लेख्न हामी छोराछोरी वाध्य छौं । आशा छ, अब त हाम्रो यो विलाप पक्कै सुनिनेछ । अरूले नसुने पनि तपाईंले सुन्नु हुनेछ । अब तपाईँले राजनीतिक पात्र होइन कानुन र न्याय हेर्नु हुनेछ । हाम्रो विरुद्ध होइन अपराध गर्नेका विरुद्ध स्याङ्जा प्रहरी परिचालन गर्नु हुनेछ । हामी पनि गएर जिल्लाप्रहरी कार्यालय र जिल्ला अदालत स्याङ्जामा आमा कमला न्यौपाने सुबेदीका विषयमा वास्तविक दुई शब्द बोल्न र सुनाउन पाउनेछौं । अहिले त बाहीर प्रहरी परिचालन गरेर भित्र हाम्रो विपक्षमा आदेश भैरहेछ । वुझ्न र खोज्न पर्ने मान्छेहरुलाई लुकाइरहेछन् । तिनीहरूमाथि गहिरो अनुसन्धान सुरु नै गरिरहेको छैन । के, कसरी उम्काउने भन्ने मात्र कार्य भैरहेछ । आशा छ, अब त्यो हुनेछैन । यस्तो जघन्य अपराध गर्ने दोषीहरु उम्कने छैनन् र हाम्रो आमा कमला सुबेदी न्यौपानेको आँखा बन्द भए पनि न्यायको आँखा बन्द हुने छैन । हामी घरपरिवारबाटै घरबार बिहिन टुहुरा भए पनि न्याय प्राप्तिमा तपाईंले टुहुरा हुन दिनुहुने छैन ।


तपाईंसँग भेटेरै सबै विलौना राख्ने इच्छा छ, आशा छ त्यो समय पनि छिट्टै प्राप्त हुनेछ र हाम्रा पिडा सम्बोधन हुनेछ ।

अहिलेलाई यति नै । धन्यबाद
किस्मत न्यौपाने
कृतिका न्यौपाने
कृषला न्यौपाने
पुतलीवजार न.पा.१३, स्याङ्जा ।
पुतलिवजार न.पा.१३,स्यांग्जा ।
#Everyone #Justice for Kamala Neupane

# जिल्ला प्रहरी कार्यालय स्याङ्जा
# गृहमन्त्रालय
# प्रहरीप्रघान कार्यालय

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।