0 COMMENTS

भदाै २३, कास्की । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ कास्कीको जिल्ला भेला ‘अर्थवाद, ट्रेड युनियनवाद र वर्गसमन्वयवादका विरुद्ध सङ्घर्ष गरौँ ! क्रान्तिकारी मजदुर आन्दोलनको विकास गरौँ !!’ भन्ने मूल नाराका साथ जनयुद्धका महान् सहिद वासु र वैरागीको स्मृति गर्दै सम्पन्न भएको छ । पोखराको औद्योगिक क्षेत्रमा भएको भेलाले बलराम तामाङको नेतृत्वमा २१ सदस्यीय अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ कास्कीको चयन गरेको छ ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका केन्द्रीय अध्यक्ष विनोद थापाको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा नेकपा (बहुमत) कास्की जिल्ला इन्चार्ज गोकुल पराजुलीको विशेष उपस्थिति रहेको थियो । प्रमुख अतिथि थापाले मजदुरले पाउनुपर्ने हकअधिकारका लागि आफूहरू आन्दोलनमै रहेको बताए । उनले मजदुरमाथि गरिएका सबैखाले करार प्रथाको अन्त्य गरी श्रमिकलाई नियुक्तिपत्र, उचित तलबभत्ता, सञ्चयकोष, उपदान, बोनस, जीवन बिमा, दुर्घटना बिमा, ग्रेड, सामाजिक सुरक्षालगायत सुविधाहरू प्रदान गर्न र गराउन सङ्गठनले आन्दोलन जारी राखेको बताए ।

नेकपा (बहुमत) कास्की जिल्ला इन्चार्ज गोकुल पराजुलीले मजदुरमाथि मालिकहरूले गरेको श्रम शोषणको अन्त्य हुनुपर्नेमा जोड दिएका थिए । भेलामा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका केन्द्रीय उपाध्यक्ष शिशिर थापा, महासङ्घका गण्डक संयोजक विजय अधिकारी, यातायात मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष कालीबहादुर पाण्डे, पार्टीका कास्की जिल्ला संयोजक बद्री अधिकारीलगायतको उपस्थिति थियो ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ कास्कीका सदस्य जुना राईले सञ्चालन गरेको भेलामा युवा जनस्वयम्सेवक नेपाल कास्कीका जिल्ला अध्यक्ष, अखिल नेपाल क्रान्तिकारी महिला सङ्गठनका जिल्ला संयोजकलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा अखिल नेपाल यातायात मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष कालीबहादुर पाण्डे, ट्रेड युनियन महासङ्घका उपाध्यक्ष शिशिर थापा, पार्टीका कास्की जिल्ला संयोजक बद्री अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।