0 COMMENTS

अहिले देशव्यापी रुपमा वामएकता र वामएकतापछिको मुख्य नेता को बन्ला भन्ने चर्चा चुलिएको छ । यसै सेरोफेरोमा रहेर नेकपा (एकिकृत समाजवादी) का प्रभावशाली नेता तथा स्थायी समिति सदस्य भविसोर पराजुलीसँग ‘नयाँ स्वाभिमान’ का लागि कृष्ण चापागाईले लिएको अन्तर्वार्ताको सानो अंश प्रस्तुत गरिएको छ ।

भबिसोर जी, अब नेपालको कम्युनिष्ट आन्दोलनको मुख्य नेता को हो ?

नेपालको कम्युनिष्ट आन्दोलनको अबको मुख्य नेता माधवकुमार नेपाल नै हुन् । किनभने ओली दक्षिणपन्थी र भ्रष्ट साबित भईसके । प्रचण्डले त्यसलाई पछ्याउँदै छन् भने माधवकुमार नेपालले ओली र प्रचण्डमा देखा परेको यसप्रकारको प्रवृतिलाई परास्त गर्दै कम्युनिष्ट आन्दोलनलाई सही क्रान्तिकारी दिशामा अगाडी बढाईरहेका छन् । त्यसकारण अबको कम्युनिष्ट आन्दोलनको मुख्य र सर्वोच्च नेता माधवकुमार नेपाल नै हुन् ।

अहिले तपाईँको पार्टी अध्यक्ष माधवकुमार नेपाल भएको हुनाले त्यसो भन्नुभएको होला नि ?

माधवकुमार नेपाल मेरो पार्टीको अध्यक्ष भएको हुनाले भनेको विल्कुल होईन । एउटा कम्युनिष्ट पार्टीको नेता आफ्नो विचार र दृष्टिकोण राख्ने विषयमा स्वतन्त्र हैसियत राख्छ । मैले त्यही हैसियतबाट स्वतन्त्र र इमान्दार भएर बोल्दा अबको कम्युनिष्ट आन्दोलनको नेता माधवकुमार नेपाल नै हो । वास्तविकता पनि यहि नै हो ?

त्यसो भए, अबको वामएकता पछिको नेता माधव नेपाल नै हुन् ?

निर्विकल्प हो । किन कि माओवादीले न एमालेलाई स्विकार्छ, न एमालेले माओवादी स्विकार्छ । अझ भन्नुहुन्छ भने अन्य कम्युनिष्ट पार्टीहरुले माओवादी र एमालेलाई स्विकार्ने स्थिति नै छैन । त्यसैले एमाले, माओवादी र अन्य कम्युनिष्ट पार्टी आउने र आउन मिल्ने पार्टी भनेको नेकपा(एकीकृत समाजवादी) हो र सबैले स्विकार्ने नेता भनेको माधवकुमार नेपाल नै हुन् । त्यसकारण अब हामी सबैको सर्वस्वीकार र सर्वमान्य नेता माधव नेपाल नै हुन् ।

उता ओली र प्रचण्डले आफूलाई राजनेताको रुपमा प्रस्तुत गरेका छन् नि त ?

राजनेता प्रस्तुत गरेर मात्र हुन्छ ? त्यसको लागि सही विचार, दृष्टिकोण र व्यवहार चाहिदैन? ओलीमा देखिएको दक्षिणपन्थी र भ्रष्ट विचारले राजनेता बन्न सक्छन् ? प्रचण्डमा देखिएको दक्षिणपन्थी अवसरवादी सोचले राजनेता होलान् ? किमार्थ संभव छैन । ओली र प्रचण्डले राजनेता बन्ने वाटो बिराईसकेका छन् । त्यसकारण ओली र प्रचण्डले आफूलाई राजनेताको रुपमा प्रस्तुत गर्ने कुरा काशी जाने कुतीको बाटो जस्तै हो ।

त्यसो भए माधवकुमार नेपाललाई राजनेता हुने बाटो खुलेको हो त ?

निश्चित रुपमा हो । अहिले बास्तवमै माधवकुमार नेपालको काँधमा सबै कम्युनिष्ट र देशभक्तलाई एकतावद्ध गरी कम्युनिष्ट आन्दोलनलाई सही दिशामा लैजाने राजनेताको ऐतिहासिक जिम्मेवारी आएको छ ।

सबै कम्युनिष्टहरु एकतावद्ध हुन्छन् त ?

कम्युनिष्ट र देशभक्तहरु एकताबद्ध हुने यो भन्दा अर्को अवसर इतिहासमा कहिल्यै जुरेको थिएन र अब यो स्थिति छिट्टै नआउन सक्छ । त्यसैले माधव कुमार नेपालको नेतृत्वमा त्यसको पहल कदमी लिन अब ढिलो गर्नु हुँदैन भन्ने लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।