साउन १६, काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तीनबुँदे सहमति सरकारले पालना नगरे हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ । ललितपुर जिल्ला अदालतले पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता प्रकाण्डलाई पक्राउ पुर्जी जारी गरेपछि उक्त दलले सरकारी कदमको विरोध गरेको छ । ‘तीनबुँदे सहमतिका विरुद्ध सरकार र राज्यले आज गराएको घटनालाई तुरुन्त रोकिएन र यसवाट भावी निम्तिने गम्भीर अवस्थाको जिम्मेवार सरकार र राज्यका अधिकारी हुनुपर्नेछ ।’
प्रवक्ता प्रकाण्डद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘राज्यका सञ्चालकहरुले के कुरा राम्ररी बुझी राख्दा हुन्छ भने हाम्रो पार्टी एकीकृत जनक्रान्ति संवेदनशील प्रक्रियामा छ ।’ पार्टी तीनबुँदे सहमतिको मर्म, वार्ता एवम् सहमतिको माध्यम र शान्तिपूर्ण तरिका प्रति पार्टी दृढ रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ओली र वर्तमान सरकार वर्तमान तीनबुँदे सहमतिप्रति इमान्दार नदेखिएको नेकपाको ठहर छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सरकारसँग वार्ता जारी रहेको अवस्थामै अदालतबाट यस्तो सूचना जारी हुनु सरकारको शान्ति पक्रिया भाँड्ने, देशलाई पुनः द्धन्द्धमा धकेल्ने कदम हो । सरकारसँग वार्तापछि भएका सहमति कार्यान्वयनको चरणमै छ । सहमति अनुसार सरकारले काम गरिरहेको छैन ।’
थुनामा रहेका आफ्नो पार्टीका कार्यकर्ता रिहा नभएको जनाइएको छ । पक्राउ पुर्जी जारी हुनुले शान्ति प्रक्रिया भाँडिने र देशलाई द्वन्द्वतिर धकेल्ने काम सरकारले गरेको विप्लव नेतृत्वको नेकपाले उल्लेख गरेको छ । उक्त दलका नेताहरुलाई जारी गरिएको पक्राउ पुर्जीले जनविरोधी चरित्रलाई मलजल पुर्याएको विप्लव नेतृत्वको नेकपाले जनाएको छ ।
तत्कालिन केपी ओली नेतृत्वको सरकारमार्फत शान्ति प्रक्रियामा आए पनि उनीहरुविरुद्ध परेको मुद्दा अझै फिर्ता भएको छैनन्, जसकाकारण अदालतले समय समयमा उनीहरूवरिुद्ध पक्राउ पुर्जी जारी गर्दै आएको छ।