असार १२, काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा लागुऔषधको उत्पादन, बिक्री–वितरण, भण्डारण, ओसारपसार तथा सेवनको असर र प्रभाव बढ्दै गएको भन्दै यसलाई राष्ट्रिय चुनौतीका रूपमा लिनुपर्ने बताएका छन्।
प्रहरी महानिरीक्षक कार्कीका अनुसार विगत पाँच वर्षको तथ्यांक विश्लेषण गर्दा प्रत्येक वर्ष औसत चार हजार लागुऔषधसम्बन्धी मुद्दा दर्ता हुने र करिब आठ हजार अभियुक्त पक्राउ पर्ने गरेका छन्। उनले चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म पाँच हजार ४७ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भइसकेको जानकारी दिए। उनका अनुसार लागुऔषध कसूरमा सात हजार ७२५ नेपाली, ३२८ भारतीय र १५ अन्य विदेशी नागरिक गरी कुल आठ हजार ६८ जना अभियुक्त पक्राउ परेका छन्। उनले भने,‘विगत पाँच वर्षको तथ्यांक विश्लेषण गर्दा वार्षिक औषधमा चार हजार मुद्दा दर्ता र आठ हजारको हाराहारीमा त्यसका अभियुक्तहरु पनि पक्राउ पर्ने गरेको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्ष २०८२–८३ को हालसम्म पाँच हजार ४७ वटा लागू औषधको मुद्दा दर्ता भएका छन् । लागु औषध कसूरमा सात हजार सात सय २५ जना नेपाली ,भारतीय तीन सय २८ जना र अन्य विदेशी १५ जनागरी आठ हजार ६८ जना अभियुक्तहरु पक्राउ परेको अवस्था छ ।’
बरामद लागुऔषधको विवरण प्रस्तुत गर्दै कार्कीले सबैभन्दा बढी ४५ हजार ८५० किलोग्राम गाँजा, ४७७ किलोग्राम चरेस, ४३ किलोग्राम हिरोइन, ५ किलोग्राम ७६८ ग्राम कोकिन तथा १२५ किलोग्राम ६६ ग्राम अफिम बरामद गरिएको बताए। ‘लागू औषध बरामदमा हेर्दा सबैभन्दा बढि गाजा ४५ हजार आठ सय ५० किलो ,चरेस चार सय ७७ किलो हिरोइन ४३ किलो ,कोकिन पाँच किलो ७ सय ६८ ग्राम ,अफिम एक सय २५ किलो ६६ ग्राम बरामद भएको छ ।’ उनले लागुऔषध नियन्त्रणका लागि सुरक्षा निकाय, सरकारी निकाय, समुदाय, अभिभावक र नागरिक समाजबीच समन्वय र सहकार्य अझ सुदृढ बनाउन आवश्यक रहेको बताए।
