0 COMMENTS

साउन १६, काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तीनबुँदे सहमति सरकारले पालना नगरे हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ । ललितपुर जिल्ला अदालतले पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता प्रकाण्डलाई पक्राउ पुर्जी जारी गरेपछि उक्त दलले सरकारी कदमको विरोध गरेको छ । ‘तीनबुँदे सहमतिका विरुद्ध सरकार र राज्यले आज गराएको घटनालाई तुरुन्त रोकिएन र यसवाट भावी निम्तिने गम्भीर अवस्थाको जिम्मेवार सरकार र राज्यका अधिकारी हुनुपर्नेछ ।’

प्रवक्ता प्रकाण्डद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘राज्यका सञ्चालकहरुले के कुरा राम्ररी बुझी राख्दा हुन्छ भने हाम्रो पार्टी एकीकृत जनक्रान्ति संवेदनशील प्रक्रियामा छ ।’ पार्टी तीनबुँदे सहमतिको मर्म, वार्ता एवम् सहमतिको माध्यम र शान्तिपूर्ण तरिका प्रति पार्टी दृढ रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ओली र वर्तमान सरकार वर्तमान तीनबुँदे सहमतिप्रति इमान्दार नदेखिएको नेकपाको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारसँग वार्ता जारी रहेको अवस्थामै अदालतबाट यस्तो सूचना जारी हुनु सरकारको शान्ति पक्रिया भाँड्ने, देशलाई पुनः द्धन्द्धमा धकेल्ने कदम हो । सरकारसँग वार्तापछि भएका सहमति कार्यान्वयनको चरणमै छ । सहमति अनुसार सरकारले काम गरिरहेको छैन ।’

थुनामा रहेका आफ्नो पार्टीका कार्यकर्ता रिहा नभएको जनाइएको छ । पक्राउ पुर्जी जारी हुनुले शान्ति प्रक्रिया भाँडिने र देशलाई द्वन्द्वतिर धकेल्ने काम सरकारले गरेको विप्लव नेतृत्वको नेकपाले उल्लेख गरेको छ । उक्त दलका नेताहरुलाई जारी गरिएको पक्राउ पुर्जीले जनविरोधी चरित्रलाई मलजल पुर्‍याएको विप्लव नेतृत्वको नेकपाले जनाएको छ ।

तत्कालिन केपी ओली नेतृत्वको सरकारमार्फत शान्ति प्रक्रियामा आए पनि उनीहरुविरुद्ध परेको मुद्दा अझै फिर्ता भएको छैनन्, जसकाकारण अदालतले समय समयमा उनीहरूवरिुद्ध पक्राउ पुर्जी जारी गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।