0 COMMENTS

साउन १५, बनेपा । घामपानी र धुलोधुवाँ सहेर जीविकोपार्जनका लागि सडककिनारमा सामान्य पेसाव्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूलाई व्यापारव्यवासयको कुनै विकल्प नदिईकनै हटाएको भन्दै काभ्रेको बनेपाका मजदुर आन्दोलित बनिरहेका छन् । यसैबीच उनीहरूले बनेपामा दिनहुँजसो प्रदर्शन गर्दै आएका छन् । उनीहरूले स्थानीय सरकारले फुटपाथ सडक व्यापारी र स्वरोजगारलाई स्थानीय प्रहरी प्रशासन लगाई विस्थापित गरिरहेको भन्दै आन्दोलन जारी राखेका हुन् ।

मजदुरहरूले शनिबार पनि बनेपामा प्रदर्शन गरेका छन् । मजदुरहरूले गणेशस्थानदेखि र्याली निकालेर नाला दोबाटो हुँदै टेलिकमअगाडिको चोकमा पुगेर कोणसभा सम्पन्न गरेका छन् । ३ सयभन्दा बढी मजदुर सहभागी रहेको प्रदर्शनपछि आयोजित सभामा सम्बोधन गर्दै नेकपा (बहुमत) काभ्रेका इन्चार्ज तथा पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य प्रतापले मजदुरलाई कुनै विकल्प नदिएसम्म व्यापारव्यवसाय गरिरहेको ठाउँबाट हटाउन नपाइने बताए । उनले सानोतिनो पेसाव्यवसाय गरेर बसेका मजदुरलाई विकल्प नदिएरै दमन गरेको भन्दै आक्रोश पनि व्यक्त गरे ।

जिल्ला इन्चार्ज प्रतापका अनुसार बनेपाका विभिन्न ठाउँमा ठेलागाडा चलाएर जीवन निर्वाह गरेका फुटपाथ व्यापारीहरूलाई नगरपालिकाले बल प्रयोग गरी हटाएको छ । मजदुरहरूले आफूहरूलाई व्यापारव्यवसायका लागि विकल्प दिनुपर्ने माग गरेको बेला उल्टै स्थानीय सरकारले प्रहरी लगाएर दमन गरेको भन्दै मजदुर झन् आक्रोशित बनेका छन् ।

मजदुरहरूले प्रमुख जिल्ला अधिकारीलाई पेसाव्यवसायको सुनिश्चितता, सुरक्षालगायत विभिन्न माग राखी मागपत्रसमेत बुझाएका छन् । पीडित मजदुरले ट्रेड युनियन अधिकारको रक्षा गर्ने विषयमा नेपालको संविधान २०७२ को मौलिक हकसम्बन्धी धारा ३४ लाईसमेत ध्यानमा राख्दै श्रमिक नागरिकको उचित व्यवस्थापन गर्न जोडदार माग राखेका छन् । सडकका फुटपाथ व्यापारी तथा स्वरोजगारहरूलाई अर्को उचित व्यवस्था नभएसम्म गरिखान दिनुपर्ने उनीहरूको माग छ ।

सम्बन्धित सरोकारवाला पक्षले यस विषयमा ध्यान नदिएमा जारी आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार नगरपालिकाका प्रमुख स्वयम् हुनुपर्ने चेतावनी उनीहरूले दिएका छन् । शनिबार भएको कार्यक्रममा युवा सङ्गठनका नेता राजकुमार मगरले पनि सम्बोधन गरेका थिए । कोणसभाको सञ्चालन सोमन बस्नेतले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।