ललितपुर । पशुहरुमा लाग्ने संक्रामक लम्पि रोग विरुद्धको सप्ताहव्यापी खोप अभियानको शुभारम्भ गरिएको छ । पशु सेवा कार्यालय, ललितपुरको आयोजना तथा स्थानीय तहको समन्वयमा आइतवारदेखि संचालित उक्त सप्ताहव्यापी (भाद्र १ देखि ७ गते सम्म) अभियानको शुभारम्भ ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नं. १ बाट गरिएको छ । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेल एंव मन्त्रालयका पशुपन्छी विकास महाशाखा प्रमुख डा. रामप्रकाश प्रधानको उपस्थितिमा खोप अभियानको शुभारम्भ गरिएको थियो ।
कोन्ज्योसोम गाउँपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले किसानको माग अनुसारको खोप उपलव्ध गराउन मन्त्रालयले ठोस कदम चाल्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले किसानलाई पहुँचको आधारमा अनुदान नदिने/नपाउने वाचा व्यक्त गर्नुभयो । कार्यक्रमका विशेष अतिथि बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका महाशाखा प्रमुख डा. रामप्रकाश प्रधानले किसानका सानाभन्दा साना योजनाहरुलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । “भनाइमा पहिलो र व्यवहारमा पछिल्लो छ, बजेटमा किसान” त्यसैले योजनाबद्ध रुपमा किसानका पक्षमा काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । “कृषि मन्त्रालय, प्रदेश र जिल्ला पशु सेवा कार्यालय, किसानका पीरमर्कामा साथमा रहन तयार छ ।” उहाँको भनाई थियो ।
कार्यक्रममा कोन्ज्योसोम गाउँपालिका अध्यक्ष कृष्णमान लामाले विषयगत मन्त्रालय, संघ, प्रदेश, जिल्ला र स्थानीय निकायहरुले समन्वय गरेर काम गर्नुपर्ने धारण राख्नुु भयो । केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले लम्पि रोग विरुद्धको खोप अपुग नहोस् भन्ने शुभकामना दिनुभयो । कार्यक्रममा कोन्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष राजनप्रसाद धिमिरे, वडा नं. १ का अध्यक्ष सन्तलाल लामा, वडा ४ का अध्यक्ष तीर्थ घलान, वडा ५ का अध्यक्ष विजयकुमार स्याङ्तान लगायतकाले बोल्नुभएको थियो । कार्यक्रममा व्यवसायीहरुले “प्राविधिक छन् तर घरघरमा पुग्दैनन्” भन्ने गुनासो गर्नुभएको थियो । कार्यक्रममा पशु सेवा कार्यालय, ललितपुरका अधिकृत कृष्ण कार्कीले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका २१ स्थानीय तहमध्ये हाल १४ स्थानीय तहमा १० हजार खोप वितरण गरिने बताउनु भयो । अन्य स्थानीय तहमा आन्तरिक स्रोतबाट गत वैशाखमा खोप लगाइसकिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा पशु सेवा कार्यालय, ललिपपुरका प्रमुख डा.प्रभात न्यौपानेले खोप अभियानको उदेश्यमाथि प्रकाश पार्नु भएको थियो ।