माघ २५, काठमाडाैँ । सिन्धुलीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइते मध्यका एक जनाको अवस्था गम्भीर छ । शुक्रबार बिहान ३:४५ बजे झापाबाट काठमाडौँतर्फ गइरहेको वीपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–५ गढीमा बा ०१-०३० च ९६४२ नम्बरको विद्युतीय भ्यान दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार दुर्घटनामा गाडीचालक दोलखाको गौरीशङ्कर गाउँपालिका घर भएका २७ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको हो । मोरङको लेटाङ नगरपालिका–२ की ३४ वर्षीया देवी लिम्बूको अवस्था गम्भीर छ । उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा इलाम देउमाई नगरपालिका–८ का ५३ वर्षीय सनबहादुर तामाङ, काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–५ का २८ वर्षीया श्वेता गिरी, सोही स्थानका २८ वर्षीय सञ्जय रोक्का, झापाको बाह्रगढी गाउँपालिका– १ का २७ वर्षीय किस्कु मण्डल पनि घाइते भएका छन् ।