0 COMMENTS

माघ २५, काठमाडौँ । सर्वोच्च अदालतले नेपाल सरकारका नाममा गरेको निर्देशनात्मका आदेश कार्यान्वयन नगरेको भन्दै ब्रिटिस गोर्खा भूपु सैनिकहरुले सडकमा मार्चपास गरेका छन् । बुधबार ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) को नेतृत्वमा भूपु सैनिकहरुले काठमाडौंको माइतिघर मण्डलाबाट नयाँबानेश्वर पुगी त्यहाँबाट फर्किएर पुनः मण्डलामा आई विरोधसभा गरेका छन् ।

सन् १९४७ को नोभेम्बर ९ मा नेपाल, भारत र संयुक्त अधिराजयबीच भएको त्रिपक्षीय सम्झौता अन्तर्गत भर्ती भएको गोरखा सैनिकहरूमाथि हुँदै आएको अन्याय, असमानता र विभेदका विषयहरूलाई लिएर बिगेसो लामो समयदेखि सडक संघर्षमा रहेको छ ।

बीगेसोका अध्यक्ष पदमसुन्दर लिम्बूको अध्यक्षतामा सम्पन्न भएको विरोधसभामा बीगेसोका प्रमुख सल्लाहकार परि थापा, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, अर्थविद् तथा बीगेसोका सल्लाहकार सिताराम तामाङ, लेखक तथा बीगेसोका सल्लाहकार रतन भण्डारी, बीगेसो सिंगापुर गोर्खा विभाग प्रमुख पलबहादुर घर्तीमगर, सल्लाहकारहरु पवनमान श्रेष्ठ, लालबहादुर जाग्री, शारदा महत लगायतले असमान गोर्खा भर्तीकेन्द्र तत्काल खारेज गर्नुपर्नेमा जोड दिए ।

बीगेसोका सचिव ज्ञानबहादुर गुरुङले सञ्चालन गरेको विरोधसभामा बीगेसो महिला विभागकी संयोजक सुलोचना गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा चर्चित गायिका मनु नेम्वाङद्वारा गीत प्रस्तुत गरिएको थियो ।

बिगेसोले अदालतमा लडेको कानुनी लडाईले ब्रिटिश गोर्खा सैनिकहरूको पक्षमा सर्वोच्च अदालतले २४ माघ २०७९ सालमा फैसला मात्रै गरेन उसले नेपाल सरकारका नाममा निर्देशनात्मक आदेश नै जारी गरिसकेको छ ।

सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयबाट नेपाल सरकारका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई यही वर्षको गत ८ साउन र २० पुसमा दुई पटक ताकेता पत्र पठाइसकेको छ । तर सरकारले कार्यान्वयनको पक्षमा ध्यान नदिएको बिगेसोको गुनासो छ ।

सरकारलाई कार्यान्वयनको लागि दबाबस्वरुप निरन्तर संघर्ष गर्दै आइरहेको बेला पछिल्लो समय सरकारले बिगेसोसँग बार्ता पनि गर्न थालेको उनीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।