वैशाख १३, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट रसुवा जिल्लाको आमाछ्योदिङ्गमो गाउँपालिका प्रमुखमा दावा फिन्जो तामाङ र उप–प्रमुखमा मुना तामाङले निर्वाचन आयोगमा मनोनयन दर्ता गराएका छन् । सोमबार आमाछ्योदिङ्गमो गाउँपालिकामा दावा फिन्जो तामाङ र मुना तामाङले नेकपा (समाजवादी) बाट निर्वाचन अधिकृतको कार्यालयमा प्रमुख र उप–प्रमुख पदमा मनोनयन दर्ता गराएका हुन् ।
‘आमाछ्योदिङ्गमो गाउँपालिका रसुवाको सुनौलो भविष्यको लागि’ गाउँपालिका प्रमुख पदको उम्मेदवार दावा फिन्जो तामाङ र उप–प्रमुखमा मुना तामाङलाई अत्याधिक बहुमतले विजय गराउँन नेकपा (समाजवादी) ले आह्वान् गरेको छ । आत्मनिर्भर राष्ट्रिय अर्थनीति, उत्पादनमा राष्ट्रवाद र उपभोक्तमा राष्ट्रियताका नारासहित नेकपा (समाजवादी) को विकास र समृद्धिको लागि चुनाव चिन्द ‘कार’ मा मतदान गरि दावा फिन्जो तामाङ र मुना तामाङलाई बिजय गराउन अनुरोध गरिएको छ ।
यहि वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि सोमबार अपरान्ह ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरुले आफ्नो नाम मनोनयन गर्न पाउने निर्वाचन आयोगले दुई दिनको समय तोकेको थियो ।
निर्वाचन आयोगले आज मंगलबार उम्मेदवारको विरोधमा उजुरी दिने तय गरेको छ । वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।