वैशाख १३, नवलपरासी । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट नवलपरासी जिल्लाको कावासोती नगरपालिकाको नौ नम्बर वडा अध्यक्षमा हेमन्त घिमिरेले निर्वाचन आयोगमा मनोनयन दर्ता गराएका छन् । सोमबार दुइ बजेर पैतिस मिनेटमा कावासोती नगरपालिकाको वडामा हेमन्त घिमिरेले नेकपा (समाजवादी) बाट निर्वाचन अधिकृतको कार्यालयमा वडा अध्यक्ष पदमा मनोनयन दर्ता गराएका हुन् ।
यहि वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि सोमबार अपरान्ह ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरुले आफ्नो नाम मनोनयन गर्न पाउने निर्वाचन आयोगले दुई दिनको समय तोकेको थियो ।
निर्वाचन आयोगले आज १३ गते (मंगलबार) उम्मेदवारको विरोधमा उजुरी दिने तय गरेको छ । वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।