0 COMMENTS

असोज ४, काठमाडौँ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक पछिल्ला दिनमा निरन्तरजस्तै घटेको छ । एक वर्षको अधिकतम बिन्दु हेर्दा बजार ३०००.८१ बिन्दु पुगेको थियो । तर, बजार अहिले घटेर २५७६.७६ विन्दुमा छ । यो तथ्यांक बुधबारको हो । बजार एक वर्षको अन्तरालमा १८२६ बाट उकालो लागेर ३०००.८१ बिन्दुसम्म पुग्दा सबैलाई बजारमा बुलिस ट्रेन्ड सुरु भएको लागेको थियो । यसअघिको उच्च विन्दु पार गर्ने आशले कतिपयले धितोपत्र दोस्रो बजारमा ऋण लिएर पनि लगानी गरेका थिए । हाल बजार ३००० विन्दुबाट फर्किएको छ ।

पछिल्लो २१ कारोबार दिनमा बजार सातदिन मात्र बढेको छ । बाँकी १४ कारोबार दिन बजार घटेको छ । पछिल्लो एक महिनामा बजार घट्ने क्रम बढेको छ । गत साउन ३१ गते ३०००.८१ बिन्दुमा पुगेको बजार घटेर बुुधबार २५७६.७६ बिन्दुमा झरेको छ । त्यसयता बजार ४२४.०५ अंकले घटेको छ । एक महिनाको अन्तरालमा बजार १४.१३ प्रतिशतले घटेको हो । यही विन्दुबाट बजार बढ्यो भने ३००० विन्दुमा पुग्न १६.४६ प्रतिशत बढ्नुपर्छ । हाल कारोबार रकम पनि घट्दै गएको अवस्था छ । साउन ३१ गते २९ अर्ब ९५ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बुधबारसम्म आइपुग्दा पाँच अर्ब ६६ करोड रुपैयाँमा झरेको छ । साउन ३१ गतेको तुलनामा बजारमा बुधबारसम्म ८१ प्रतिशतभन्दा कम मूल्यको सेयर कारोबार भएको छ ।

यसरी कारोबार रकम कम हुँदा अर्थमन्त्री विष्णुप्रसाद पौडेल अचम्ममा परेको अभिव्यक्ति दिँदै आएका छन् । बुधबार नेप्से परिसरमा पुगेर कारोबार रकम र नेप्से परिसूचक घट्नुको कारण समेत सोधेका थिए । यसको उत्तर नआएसम्म आफूलाई, आफ्ना राजस्व सचिव र नेप्सेको नेतृत्व गरिरहेका कर्मचारीलाई पनि सोधिरहने बताए । उनले यसरी प्रश्न गरेकी बजारको प्राविधिक विषय नै उनलाई थाहा नभए जसरी कर्मचारीलाई प्रश्न सोधे । धितोपत्र बजार सधैँ एकनासले उकालो लाग्ने र ओरालो झर्ने हुँदैन । बजारमा केही प्रतिशत मूल्य बढेपछि नाफा बुक गर्नेहरू सक्रिय हुँदा बजार घट्छ । बजारमा माग बढ्दा कम्पनीहरूको सेयर सप्लाई बढेन भने बजार बढ्छ ।

हुन पनि सेयर बजार भनेकै पैसा लगानी गरेर आफ्नो सावाँसहित नाफा बुक गर्ने क्षेत्र हो । यहाँ दीर्घकालीन लगानी गर्नेदेखि सट्टेबाजीको रूपमा कारोबार गर्नेहरू सक्रिय हुन्छन् । तर, पहिलोपटक बजारमा छिर्नेले भने बजारको लय नबुझ्दा उच्च मूल्यमा सेयर किनेर बेच्न नसक्ने स्थिति बन्न सक्छ । उनीहरू घाटा खाएरै बजारबाट बाहिरिन्छन् । अहिलेको बजारलाई कतिपयले बुलिस र कतिपयले बियरिस भनिरहेका छन् । तर, यसअघिका तथ्यांक हेर्दा बजार अहिले बुलिस ट्रेन्डमा नै छ । यसको न्यूनतम बिन्दु १८२६ हो । २०८० कात्तिक १९ गते बजार १८२६.२३ बिन्दुमा बन्द भएको थियो । त्यसयता बजार १९०० बिन्दुभन्दा तल झरेको छैन ।

सेयर विश्लेषककै कुरा मान्ने हो भने पनि बजार उच्च बिन्दुबाट २० प्रतिशत तल झर्‍यो भने त्यसलाई बियरिस ट्रेन्ड मान्न सकिन्छ । सेयर विश्लेषक रवीन्द्र भट्टराईले पनि आफ्नो पछिल्लो किताब ‘सेयर सुत्र’मा बजार उच्च बिन्दुबाट १०-२० प्रतिशतसम्म तल झरे त्यसलाई करेक्सनका रूपमा लिनुपर्ने उल्लेख गरेका छन् । तर, बजार २० प्रतिशतभन्दा तल झर्‍यो भने लगानीकर्ता पेनिक हुने र आत्तिएर सेयर बेच्न थाल्ने उनको भनाइ छ । त्यसले पनि अहिलेको बजारलाई करेक्सनको रूपमा लिनुपर्छ । भट्टराईकै कुरालाई मान्ने हो भने बजार बियरिस ट्रेन्डमा जान ३००० विन्दुको २० प्रतिशत घटेर २४०० बिन्दु तल बन्द हुनुपर्छ ।

इन्ट्रा डेको उच्च बिन्दु र न्यून विन्दुलाई नै हेर्दा पनि बजार उच्च बिन्दुबाट १६.२९ प्रतिशत घटेको छ । नेप्से परिसूचकले हालसम्मकै उच्च बिन्दु २०७८ भदौ २ गते ३१९८ बनाएको थियो । सो बिन्दुलाई पार गर्न सके बजारले नयाँ रेकर्ड कायम गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।