0 COMMENTS

साउन २२, काठमाडाैँ । गत २०२२ को श्रीलंकाको जनविद्रोहलाई स्मरण गराउने गरी बांग्लादेश विद्यार्थी आन्दोलनले देशव्यापी जनविद्रोहका रुपमा विकसित भएपछि त्यहाँको सरकारका प्रधानमन्त्री शेख हसिना वाजेदले राजीनामा दिएर सेनाकै हेलिकप्टरमा भारत पलायन भएकी छन् र त्यहाँ तत्कालका लागि सेनाले सत्ता आफ्नो हातमा लिएको छ ।

सेना प्रमुखले विद्यार्थीका मागलाई संबोधन गर्ने, सर्वदलीय सरकार गठन गर्ने र त्यसैको नेतृत्वमा निर्वाचित हुने सरकारलाई सत्ता हस्तान्तरण गर्ने घोषणा गरेका छन् । हुनत आन्दोलनको सुरुआत बंगलादेशको १९७१ का “स्वतन्त्रता” सेनानीका सन्तानलाई सरकारी सेवामा ३० प्रतिशत आरक्षण दिने संवैधानिक व्यवस्थाका विरुद्ध भएको थियो तर आन्दोलनमाथि सरकारको दमनका कारण भडकिएको विद्यार्थी आन्दोलनले देशव्यापी जनविद्रोहको रुपधारण गर्न पुग्यो ।

यो जनआक्रोष अगाडि आउनुको पछाडिको मूल कारण प्रधानमन्त्री शेख हसिना वाजेदको सरकारले अवलम्बन गरेको नवउदारवादी आर्थिक नीति नै हो । यही नवउदारवादी आर्थिक नीतिका कारण पैदा भएको राष्ट्रघात, बेरोजगारी, भ्रष्टाचार, असुरक्षा महंगी र शेख हसिना सरकारको अन्य विरोधी राजनीतिक पार्टीहरु प्रतिको असहिष्णु तथा फासीवादी रवैयाको परिणाम थियो । यी परिघटनालाई लिएर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मोेहन बैद्य किरणको प्रेस—वक्तव्यमा भनिएको छ—”सरकारको पराजय भए पनि बांग्लादेशका जनताका वास्तविक समस्या यही सैनिक नेतृत्व वा यही संसदीय व्यवस्था अन्तर्गत निर्वाचित हुने कुनै सरकारबाट पनि समाधान हुन सक्दैन ।

यो साम्राज्यवादी युगमा जनताको निर्णायक जित नहुँदासम्म आन्दोलन–दमन–आंशिक सुधार र फेरि आन्दोलन–दमन–आंशिक सुधार यो चक्र निरन्तर चलिरहन्छ । साम्राज्यवादारा उत्पीडित देशमा जनताको मुक्तिको एकमात्र बाटो सर्वहारा वर्गको नेतृत्वमा नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद हो ।“

वक्तव्यको अनत्यमा उहाँले विद्यार्थी तथा जनताले उठाएका जायज मागहरु पुरा गर्न, आन्दोलनमा ज्यान गुमाउनेहरुका परिवारलाई उचित क्षतिपूर्ति दिन, घाइतेहरुको उपचार गर्न र बांग्लादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको सुरक्षा गर्न हाम्रो पार्टी बांग्लादेश सरकारसँग विशेष अनुरोध गर्दछ भन्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।