0 COMMENTS

जेठ २, काठमाडौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) ले जेठ ६ गते शैक्षिक हड्तालको घोषणा गरेको छ । संगठनका केन्द्रिय संयोजक मिलन राईलाई बिना कारण गिरफ्तार गरिएको भन्दै क्रान्तिकारीले उनको रिहाइको माग गर्दै शैक्षिक हड्ताल घोषणा गरेको हो ।

संगठनका सह-संयोजक पेशल दाहालले मंगलबार एक विज्ञप्ति जारी गर्दै संयोजक राईलाई प्रहरीले सोमबार राति नागार्जुन १, रानिवन कृष्ण मन्दिरबाट निवास जाने क्रममा अमानवीय र अपहरणशैलीमा गिरफ्तार गरेको बताएका छन् । साथै उनले मानव अधिकारको गम्भीर उलंघन सहित प्रहरीको यस्तो घृणित र तुच्छ हर्कतको घोर भ्रत्सर्ना र निन्दा समेत गरेका छन् ।

‘विनाकारण गिरफ्तार गरी प्रहरीले आफ्नो लाज छोप्न कथित अभ्रद व्यवहारको मुद्दा दर्ता गरी जग हसाउने कुकार्य गरेको छ । कुनै अमुक पार्टीको झोला बोकेर शैक्षिक माफियाहरूसँगको मिलोमतोमा हाम्रो संगठनका नेताकार्यकर्तासंग प्रतिरोध साँध्ने र पुर्वाग्रही रवैया अपनाउने प्रहरीको यस्तो हर्कतबारे सम्पूर्ण पत्रकार मित्रहरु, मानवअधिकार कर्मीहरू, युवाविद्यार्थीहरू र आमजनहरूमा यसको प्रतिरोधका लागि हार्दिक अनुरोध गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

संगठनका संयोजक राईको प्रहरीद्वारा गरिएको बदनियतपुर्ण गिरफ्तारीका विरूद्ध र स-सम्मान रिहाईका लागि उनले चरणबद्ध संघर्षका कार्यक्रमहरूको घोषणा गरेका छन्। साथै आफुहरुको उक्त संघर्षमा भौतिक र नैतिक सहयोगका लागि सम्पूर्ण शिक्षण संस्था, युवा विद्यार्थीहरू र आमजनसमुदायमा उनले हार्दिक अपिल समेत गरेका छन् ।

देशव्यापी संघर्षका कार्यक्रम अन्तर्गत जेठ २ गते कोणसभा, जेठ ३ गते गृहमन्त्रीको पुत्ला दहन, जेठ ४ गते पर्चा वितरण, प्रचार-प्रसार तथा दलाल राज्यसत्ता र प्रहरी प्रशासनको श्वेत आतंकको भण्डाफोर, जेठ ५ गते मशाल जुलुश र जेठ ६ गते आम शैक्षिक हड्तालको घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।