0 COMMENTS

जेठ १, काठमाडौँ । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज संघीय संसदमा पेस हुँदै छ ।

दिउँसो ३ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदका प्रवक्ता दशरथ धमलाले जानकारी दिए । तर संसद्‌को गतिरोध अन्त्य गर्ने विषयमा भएको सत्तारुढ दलको छलफलमा जुटे पनि कुनै निष्कर्षमा पुगेका छैनन् । दलहरुको आ–आफ्नै अडानले आज पेश हुने नीति तथा कार्यक्रम नै प्रभावित हुने जोखिम देखिएको छ । आज सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यतालिका रहे पनि सत्तापक्ष र प्रमुख प्रतिपक्षीको अडानका कारण संसद्को गतिरोध अन्त्य हुने संकेत अझै देखिएको छैन ।

कांग्रेसले उठाएको छानबिन समिति गठनका विषयमा प्रधानमन्त्री नरम देखिए पनि एमाले अध्यक्ष केपी शर्मा ओली विपक्षमा रहेका छन् । कांग्रेस पनि टसका मस भएको छैन् । सोमबार दिनभरजसो भएका छलफल निष्कर्षमा नपुगेपछि आज थप गृहकार्यमा नेताहरु जुट्दै छन् । त्यसअघि कांग्रेसले विहान ९ बजे कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बसेर थप निर्णय गरिने सचेतक सुशिला थिङले जानकारी दिइन्। धमलाका अनुसार नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रिय सभामा छुट्राछुट्टै छलफल गरिनेछ ।

प्रतिनिधिसभा बैठकमा जेठ ३, ४, ६, ७, ८ र ९ गते छलफल हुने र अन्तिम दिन पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । त्यसैगरी राष्ट्रिय सभामा भने जेठ ३, ४ र ६ गते सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । त्यसपछि सरकारले आगामी वर्षको बजेट जेठ १५ मा ल्याउनै पर्ने संवैधानिक व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।