0 COMMENTS

वैशाख ३१, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नारायणी नदीमाथि बन्ने नयाँ पुलको आज शिलान्यास गर्ने भएका छन् । उनी आइतबार नै चितवन गएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले चितवनको नारायणगढ र नवलपुरको गैंडाकोट नगरपालिका जोड्ने पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने नारायणी नदीमाथि बन्ने केबलस्टेट पुलको शिलान्यास गर्न लागेका हुन् । हाल नारायणी नदीमा भएको पुलसँगै जोडर उत्तरतर्फ नयाँ पुल निर्माण गर्न लागिएको हो ।

सडक विभाग पुल महाशाखाका डिभिजनल इञ्जिनियर एवं पुलका योजना प्रमुख कृष्ण अधिकारीका अनुसार पुल चार सय २० मिटर लामो हुनेछ । जम्मा चार वटा पिल्लर रहने छन् भने पुलको मुनिबाट ठूला पानीजहाज आवतजावत गर्न मिल्ने गरी डिजाइन गरिएको छ ।

तुँदी कन्स्ट्रक्सन प्रालिले चार वर्षभित्रमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको पुलको डिजाइन पनि सोही कम्पनीले तयार गरी पुल महाशाखाले स्वीकृत गरेको हो । पुलको लागत भ्याटसहित १ अर्ब ६८ करोड ७६ लाख २३ हजार तीन सय ५४ मा रहेको छ । ठेक्का भएको ४ वर्ष भित्र सक्ने सम्झौता भए पनि एक वर्षको समय गुज्रिसकेको छ ।

पुलको दुई ठाउँमा टावर राखिने छ । पुल १२ मिटर फराकिलो हुनेछ । बीचमा सात दशमलव पाँच मिटर फराकिलो सडक रहनेछ भने उत्तरतर्फ बाँकी भागमा फराकिलो फुटपाथ हुनेछ । जहाँ साइकलसमेत चलाउन सकिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।