0 COMMENTS

वैशाख ३०, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले पदबाट राजीनामा दिएका छन् । सरकारले २०७७ मा संसद्‍बाट पारित चुच्चे नक्सा एक सय रुपैयाँ दरको नयाँ नोटमा राख्ने मन्त्रिपरिषदको निर्णयविरुद्ध अभिव्यक्ति दिएपछि विवादमा परेका नेपालले पदबाट राजीनामा दिएका हुन् ।

सल्लाहकार नेपालले दिएको राजीनामा राष्ट्रपति पौडेलले स्वीकृत गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । सय दरको नोटमा चुच्चे नक्सा राख्दा भारतसँगको सम्बन्ध बिग्रिने भन्दै नेपालले राष्ट्र बैंकको निर्णयमा असन्तुष्टि जनाएका थिए । उनी आफैं राष्ट्र बैंकका पूर्वगभर्नर पनि हुन् ।

नेपालको उक्त अभिव्यक्तिपछि राष्ट्रपति रामचन्द्र पौडेलले पनि उनीसँग सोधपुछ गरेका थिए । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सल्लाहकार नेपालको अभिव्यक्तिबारे राष्ट्रपति र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताउँदै आएका थिए । नेपालको नक्सा नोटमा प्रकाशित गर्दा राष्ट्रपतिका सल्लाहकारको टाउको दुखेको भन्दै ओलीले कडा आपत्ति जनाएका थिए ।

नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने निर्णय गरेकोमा भारत असन्तुष्ट छ । भारतीय विदेशमन्त्री एस जयशंकरले सीमाबारे दुई देशबीच स्थापित संयन्त्रमा छलफल भइरहेका बेला नेपालले एकतर्फी निर्णय गरेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।