0 COMMENTS

वैशाख २७, काठमाडौँ । सरकारले खेलाडीहरूलाई घोषणा गरेको पुरस्कारको रकम निकासा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न खेलका खेलाडीलाई यसअघि घोषणा गरेको कुल २ करोड ९७ लाख १० हजार पुरस्कार रकम निकासा गर्ने निर्णय गरेको हो ।

युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेसँगै १९औं एसियन गेम्समा पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने भएका हुन् । गत नोभेम्बरमा घरेलु मैदानमा आईसीसी टी २० विश्वकप एसिया क्षेत्र फाइनलमा पुग्दै दोस्रो भएको नेपाल क्रिकेट टिमले कुल २ करोड ४ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ ।

त्यसैगरी, १५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देशाईले ३ लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही १ लाख ९५ हजार पाउनेछन् । यस्तै १९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत दिलाउन सफल एरिका गुरुङले १९ लाख ५० हजार प्राप्त गर्नेछिन् । प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले २ लाख ३४ हजार, सहायक प्रशिक्षकहरू छोरी डंगोल र वीरकृष्ण शाही तथा व्यवस्थापक निवास गोपाल वौले १ लाख ९५ हजार प्राप्त गर्नेछन् । यसैगरी एसियन गेम्समा रजत विजेता कराँते टिमले कुल २५ लाख ३५ हजार प्राप्त गर्नेछ । 

एसियाली खेलकुदमा नै कबड्डीमा कास्य जित्ने नेपाली राष्ट्रिय महिला कबड्डी टिमका १२ खेलाडीले जनही ३ लाख ९० हजार, प्रमुख प्रशिक्षक पार्वती राईले २ लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णुदक्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले जनही १ लाख ३० हजार प्राप्त गर्नेछन् । यसरी कबड्डी टिमले कुल ४८ लाख १० हजार नगद प्राप्त गर्नेछन् । यसैगरी चौथो एसियाली पारा खेलकुद २०२२ मा कास्य जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले १३ लाख प्राप्त गर्नेछिन् । प्रमुख प्रशिक्षक कविराज नेगी लामाले २ लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले १ लाख ३० हजार प्राप्त गर्नेछन् ।

लामो समयदेखि सरकारले घोषणा गरेको पुरस्कार प्रदान गरिएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।