0 COMMENTS

वैशाख २०, काठमाडौँ । १३५ औं मजदुर दिवसको अवसर पारेर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच एकता भएर बनेको नवगठित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको घोषणा सभा बुधबार काठमाडौंमा सम्पन्न भएको छ । घोषणा सभालाई पार्टीका बरिष्ठ नेता सीपी गजुरेल ‘गौरव’, सहसंयोजकद्वय धर्मेन्द्र बास्तोला ‘कञ्चन’, सन्तबहादुर नेपाली, पार्टीका सल्लाहकारद्वय इश्वरी दाहाल ‘असारे काका’, गोविन्द सिंह थापा ‘मामा’, पार्टीका कार्यालय सदस्य तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक दिनेश शर्मा ‘सागर’, गुणनिधि आचार्य लगायतका नेताहरुले विशेष सम्बोधन गर्नुभएको थियो । 

पार्टीका बरिष्ठ नेता सीपी गजुरेल ‘गौरव’ को अध्यक्षता र कार्यालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ को सञ्चालनमा सम्पन्न घोषणा सभा कार्यक्रममा कार्यालय सदस्य कृष्णराज पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा वक्ताहरुले छरिएर रहेका अन्य क्रान्तिकारीहरुलाई पनि एकताबद्ध तुल्याउँदै नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवादी व्यवस्था स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा सामना सांस्कृतिक परिवार तथा रक्तिम परिवारका कलाकारहरुले क्रान्तिकारी गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सुरुहुनुपूर्व गौशला चोकबाट निकालिएको क्रान्तिकारीहरुको मजदुर र्याली (मार्चपास) कार्यक्रम स्थल पुरानो बानेश्वरस्थित ओम साइ पार्टी प्यालेसमा पुगेर पार्टी घोषणा सभामा सहभागी भएको थियो । 

यसैबीच, नेपाली सर्वहारावर्गको अग्रदस्ताका रुपमा रहेका दुई क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल)का बीच भएको पार्टी एकता र १३५औं मे दिवसको अवसरमा यसको घोषणा नेपाली तथा विश्व सर्वहारा वर्गका लागि एउटा सार्थक र भव्य परिघटना बन्न गएको उल्लेख गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मोहन वैद्य ‘किरण’ ले जारी गर्नुभएको प्रेस वक्तव्यमा जारी एकताको यस सुखद् अवसरमा कम्युनिस्ट नामका विभिन्न संशोधनवादी दलहरुको भ्रममा परेका क्रान्तिकारीहरु, छरिएर रहेका विभिन्न समूह तथा  व्यक्तित्वहरुलाई यो ऐतिहासिक एकता प्रक्रियामा सामेल हुन आह्वान गर्नुभएको छ । 

प्रेस वक्तव्यमा संयोजक किरणले भन्नुभएको छ, “तपाइँ हाम्रो यस प्रकारको एकताले नेपाली क्रान्तिको बलियो सदरमुकाम खडागर्ने छ र क्रान्ति सम्पन्न हुनेछ । बाटो जतिसुकै कष्टसाध्य भए पनि भविष्य उज्ज्वल छ ।”

वक्तव्यमा भनिएको छ, “श्रमजीवी तथा आम उत्पीडितवर्गको अग्रदस्ताका रुपमा मार्क्सवाद–लेनिनवाद–माओवाद/माओविचारधाराको सर्वाेच्च चेतनाद्वारा सुसज्जित र सर्वहारावर्गका प्रतिनिधिबाट बनेको सच्चा कम्युनिस्ट पार्टीबिना उनीहरुको मुक्ति असम्भव छ भन्ने अग्रचेतनाद्वारा आलोकित एकीकृत साम्यवादी दल नभइकन कुनै परिवर्तनकारी आन्दोलन वा क्रान्ति सम्पन्न हुन सक्दैन । यस तथ्यलाई आत्मसात गरी तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा मशालका बीच सम्पन्न धेरैपटकका वार्ता, छलफल तथा बहसमा भएका सहमतिको पृष्ठभूमिमा यही वि.सं. २०८१ बैशाख १३ गते पार्टी एकता संयोजन समितिको बैठकबाट यो एकता सुनिश्चित भएको हो । यो एकता मार्फत् हामीले एकता–संघर्ष र बारम्बारको फूटबाट आक्रान्त बन्दै आएको नेपाली कम्युनिस्ट आन्दोलनलाई आउने दिनमा एकता–संघर्ष रुपान्तरण र उच्चस्तरको एकतालाई हावी बनाएर लैजाने प्रतिवद्धता जाहेर गर्दछौँ ।

हाम्रो यो एकता मार्क्सवाद–लेनिनवाद–माओवाद/विचारधाराको सिद्धान्तमा आधारित रहेको छ । हामी क्रान्तिको आम कार्यक्रमका रुपमा नयाँ जनवाद तथा आधारभूत कार्यक्रम वैज्ञानिक समाजवाद र साम्यवाद, क्रान्तिमा बल प्रयोगको भूमिका, सर्वहारा अन्तर्राष्ट्रियतावाद, जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त, विद्यमान संसदीय व्यवस्थाको अन्त्य र जनगणतन्त्र नेपालको स्थापना, वैज्ञानिक समाजवाद, सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत महान् सर्वहारा सांस्कृतिक क्रान्ति जस्ता सिद्धान्तहरुप्रति कुनै मोलतोल हुन नदिन र ‘छुट’ नदिन प्रतिबद्ध रहेका छाैँ । यी आधारभूत प्रश्नहरुमा रहेको बुझाइको एकरुपताले नै यो पार्टी एकता सम्पन्न भएको हो भन्ने घोषणा गर्दछौँ । 

हामीले मार्क्सवाद–लेनिनवाद–माओवाद/विचारधाराको मौलिकतालाई दृढतापूर्वक रक्षा एवम् प्रयोग गर्दै देश, काल र परिस्थिति अनुरुप यसको विकास गर्नैपर्दछ । आज विज्ञान र प्रविधिको विकासले गर्दा सामाजिक जीवनमा आकस्मिक परिवर्तन भएका छन् । तिनलाई संम्बोधन गरेर मात्र मालेमावाद/विचारको सिर्जनात्मक प्रयोग र विकास हुन सक्दछ । यस सन्दर्भमा हामीले कुनै नयाँ कुराको वकालत गर्न र कुनै भिन्न चीजलाई स्थापित गर्न साहस गर्नैपर्दछ भन्ने माओको संश्लेषणलाई आत्मसात गरी त्यसलाई व्यवहारमा उतार्न तयार हुनुपर्दछ । 

नयाँ कुराको वकालत र भिन्न चीजको स्थापना गरेर नै माओले रुसभन्दा भिन्न देश र कालको परिस्थिति हुँदाहुँदै पनि चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नुभएको हो । नेपालको विद्यमान परिस्थिति अनुरुप मार्क्सवाद–लेनिनवाद–माओवाद/विचारधारालाई नेपाली क्रान्तिमा लागु गर्न र यो विशिष्ट परिस्थितिमा क्रान्तिको विकासका लागि त्यसको नेतृत्व गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्रतिबद्ध रहेको छ । अर्ध–औपनिवेशिक, अर्ध–सामन्ती विशेषता सहितको नव–औपनिवेशिक अर्थ–सामाजिक स्थिति, बचेखुचेको सामन्तवाद, नोकरशाही पुँजीवाद तथा दलाल पुँजीवाद मुख्यतः दलाल पुँजीवाद क्रान्तिको दुश्मन शक्ति र मजदूर, किसान, सिपाही, सुकुम्वासी, राष्ट्रिय पुँजीपति लगायतको मित्रशक्ति रहेको वर्तमान अवस्थामा दलाल तथा नोकशाही पुँजीवादी राज्यसत्ता र आम नेपाली उत्पीडित जनताका बीचको अन्तर्विरोध नै प्रधान अन्तर्विरोध रहेको छ । यसको समाधान नयाँ जनवादी क्रान्तिको खुट्किलो पार गरी पुगिने वैज्ञानिक समाजवाद हो भन्ने कुरामा हाम्रो पार्टी प्रतिबद्ध छ । 

देशमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु विकराल बनेका छन् । पछिल्ला एमसीसी र एसपीपी जस्ता सम्झौताहरु पछि राष्ट्रिय स्वाधीनताको समस्या अझ गम्भीर बनेको छ । सिमित जनतान्त्रिक अधिकारहरु क्रमशः खोसिंदै गएका छन् । झुठा मुद्दामा राजनैतिक कार्यकर्ताहरुलाई फसाएर र बन्दी बनाएर जनतन्त्रको समस्यालाई चरमचुलीमा पुर्याइएको छ । बैङ्कहरुको संरक्षणमा लघुवित्तीय, मिटरब्याजी र सहकारी संस्थाहरुको चरम सुदखोरीले जनजीविकाका समस्याहरु आकाशिएका छन् । राज्यसत्ता, सरकार र सम्वन्धित निकायहरु यी समस्याहरुको समाधान गर्नुको सट्टा आन्दोनलकारीहरुमाथि दमन गर्न उद्यत रहेका छन् । हाम्रो पार्टी राष्ट्रियता, जनतन्त्र र जनजीविकाका यावत समस्याहरुको समाधानका लागि संघर्षको नेतृत्व गर्न प्रतिबद्ध रहेको छ ।

पार्टी एकताको यस सुखद अवसरमा कम्युनिस्ट नामका विभिन्न संशोधनवादी दलहरुको भ्रममा परेका क्रान्तिकारीहरु, छरिएर रहेका विभिन्न समूह तथा  व्यक्तित्वहरुलाई यो ऐतिहासिक एकता प्रक्रियामा सामेल हुन आह्वान गर्दछौँ । तपाइँ हाम्रो यस प्रकारको एकताले नेपाली क्रान्तिको बलियो सदरमुकाम खडागर्ने छ र क्रान्ति सम्पन्न हुनेछ । बाटो जतिसुकै कष्टसाध्य भए पनि भविष्य उज्ज्वल छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।