0 COMMENTS

बैशाख १६, काठमाडौँ । प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आजदेखि तेस्रो लगानी सम्मेलन सुरु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सम्मेलनको उद्घाटन गर्नेछन् ।

सम्मेलनमा स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको छ । लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो। विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउँदैछन् । सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिता सुनिश्चित भइसकेको छ । त्यसैगरी, चीनका दुई सय ६५, भारतका एक सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सहभागी हुँदैछन् । दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ नौ जना सम्मेलनमा सहभागी हुन लागेका लगानी बोर्डले जनाएको छ । पाकिस्तानबाट आठ, सिङ्गापुरबाट ६, कतार र घानाबाट पाँचरपाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चार/चार जनाको सहभागिता रहने जनाइएको छ ।

सम्मेलनमा कुल १० सत्र सन्चालन हुने छन् र ५० जनाभन्दा बढी वक्ता रहने छन् । पहिलो दिन २ वटा र दोस्रो दिन ८ वटा सत्र सन्चालन गरिने छ । पहिलो दिनको पहिलो सत्रमा १५ जना वक्ताले बोल्ने कार्यक्रम रहेको छ । पहिलो सत्रमा नेपालमा लगानीको सम्भाव्यता र दोस्रो सत्रमा मुनाफा आर्जन गरेका कम्पनीको अनुभव आदानप्रदान हुने बोर्डले जनाएको छ ।

बोर्डले लगानीका लागि १ सय ४८ परियोजनाको सूची तयार पारेको छ, जसमा बोर्डका २०, निजी क्षेत्रका ३२, स्थानीय तहका ४ र अन्य निकायका ९६ परियोजना समावेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।