0 COMMENTS

वैशाख ११, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ ।

महाशाखाले आगामी पाँच दिन तराइमा तातो हावा चल्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराई क्षेत्रमा अत्यधिक गर्मी बढ्ने र दिउँसो तातो हावा चल्ने देखिएकाले वैशाख १० गते देखि १४ गतेसम्म सतर्क रहन भनिएको हो ।

मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी, मधेश र सुदूर-पश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा विगत दुई दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जनाएको छ । यस्तै काठमाडौँजस्ता उपत्यका तथा खोँचहरूमा पनि तापक्रम बढ्ने भन्दै महाशाखाले सतर्कता अपनाउन भनेको छ । साथै महाशाखाका अनुसार मधेश प्रदेश लगायत लुम्बिनी र कोशी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । महाशाखाले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तै, थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरु दुख्ने, वान्ता आदि हुनसक्ने भएकाले सोबाट बच्न सबैमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।