0 COMMENTS

चैत २२, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल निर्वतमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा छापा मारेको छ । महानगरपालिकाको सहकारी विभागले लामो समयदेखि बचतकर्ताको उजुरीका आधारमा ‘रेकी’ गरिरहेको सहकारीमा बुधबार विभागका कर्मचारी, महानगर प्रहरी सहित टोलीले छापा मारेको हो ।

महानगरको अनुगमन टोलीका एक सदस्यका अनुसार बिजुलीबजारमा रहेको सहकारी कार्यालयबाट पछिल्लो साधारणसभाको उपस्थिति निर्णय सहित माइन्युट, सहकारीबाट ऋण लिने ऋणीको विवरण, बचतकर्ताको विवरण ल्याएको छ । यस्तै धेरै ऋण लैजाने ऋणी, सञ्चालक समितिका सदस्यहरूको विवरण पनि टोलीले ल्याएको छ । सहकारीको सफ्टवेयर सिस्टम पनि महानगरको टोलीले ल्याएको हो ।

महानगरपालिका अनुसार धेरै उजुरी आएका ४० सहकारीमध्ये साई स्वागत बचत तथा ऋण सहकारी पनि एक हो । महानगर सहकारी विभागमा उपाध्यक्ष पौडेल जमानी बसेर ऋण दिएको मान्छे नै भागेको भन्दै उजुरी आएको थियो । विभागका अनुसार बचतकर्ताले सञ्चालक समितिबाट रकम हिनामिना गरेको भन्दै बचत फिर्ता दिन महानगरमा उजुरी दिएका थिए । यसरी सञ्चालक समितिका तत्कालीन उपाध्यक्ष पौडेल र अर्का एकले ७० लाख रुपैयाँ सहकारीबाट निकालेको बचतकर्ताको आरोप थियो । तर, उक्त रकम सहकारीलाई फिर्ता गरिसकेको अनुगमन समितिलाई सहकारी व्यवस्थापकले जानकारी दिएका थिए ।

सहकारीले नयाँ सञ्चालक समिति चयन गरेको भएपनि संस्थाको पूर्वअध्यक्ष भरतजंगम र उपाध्यक्षमा गृहमन्त्री पत्नी निकिता पौडेल छन् । सोही सहकारी दुई वटा समूह छ । भरत जंगमभन्दा बाहेकको समूहले अर्को सहकारीलाई संस्थासँग मर्जर गरेको देखिएको महानगरले जनाएको छ । सोही समूहले पूर्वअध्यक्ष भरत जंगमको हस्ताक्षर किर्ते गरेर अन्तर सहकारी सापटी लिएको तर त्यो रकम सहकारीमा दाखिला नभई बाहिर नै कारोबार भएको जस्ता प्रमाण फेला परेको स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।