0 COMMENTS

चैत २१, काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले एक प्रेस विज्ञप्ति जारी गरी सैद्धान्तिक विचलन र प्रतिक्रियावादी षड्यन्त्र विरुद्ध जुध्न अपिल गरेको छ । महासंघका केन्द्रीय संयोजक दिनेश शर्माले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अपिल गर्नुभएको हो । विज्ञप्तिमा गम्भीर सैद्धान्तिक विचलन र प्रतिक्रियावादी षड्यन्त्रमा फस्न पुगेका संगठनका सदस्यहरु रामचन्द्र थापा मगर, सुमन बस्नेत, रामशरण तिमिल्सिना, अरुण श्रेष्ठ, राजकुमार थापा मगर र केशव बुढाथोकीलाई संगठनबाट निष्कासन गरिएको समेत उल्लेख गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “हामी शोषित उत्पीडितहरुको राज्यव्यवस्था स्थापनाको लक्ष्य सहित क्रान्तिकारी मजदुर आन्दोलन निर्माणको कार्यभार उठाइरहेका छौं । यसै सन्दर्भमा महासंघले कारखाना जाऔं अभियान अघि बढाएको छ । यस अभियानले क्रान्तिकारी शिविरमा उत्साह र गति पैदा गरेको छ भने संसदीय शिविरमा निराशा र छट्पटी यसबखत संसदीय शिविर विविध प्रकारका षड्यन्त्रको खेलमा लागेको छ र त्यो हाम्रो संगठनभित्र घुसेर विभिन्न भ्रम पैदा गर्ने दुस्साहस र दुस्प्रयत्न गर्दै छ । यसै सिलसिलामा महासंघका केही सदस्यहरु गम्भीर सैद्धान्तिक विचलन सहित प्रतिक्रियावादी षड्यन्त्रको सिकार भएका छन । यस प्रकारको गम्भीर सैद्धान्तिक विचलन र प्रतिक्रियावादी षड्यन्त्रमा फस्न पुगेका संगठनका सदस्यहरु रामचन्द्र थापा मगर, सुमन बस्नेत, रामशरण तिमिल्सिना, अरुण श्रेष्ठ, राजकुमार थापा मगर र केशव बुढाथोकीलाई संगठनबाट निष्कासन गरिएको छ । हामीले यस प्रकारको भ्रम, षड्यन्त्र र सैद्धान्तिक विचलनका विरुद्ध जुध्दै मालेमावादले आलोकित र निर्देशित क्रान्तिकारी मजदुर संगठन र आन्दोलन निर्माण गर्नु पर्दछ । त्यस दिशामा एकताबद्ध अघि बढ्न महासंघका सम्पूर्ण सदस्यहरुमा हार्दिक अपिल गरिन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।