0 COMMENTS

पुस २९, काठमाडौँ । बढ्दो दुर्घटनाको ग्राफले नेपाली सडक दिनदिनै असुरक्षित बनिरहेको देखाएको छ । पछिल्लो २४ घन्टाको बीचमा काठमाडौँसहित दाङ, बागलुङ लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा २२ जनाले ज्यान गुमाएपछि सडक सुरक्षाबारे प्रश्न उठेको हो ।

नेपालमा प्रत्येक दिन ७ देखि ८ जनाको मृत्यु सडक दुर्घटनाबाट हुने गरेको छ । प्रत्येक दिन ४० जना घाइते हुने गरेका छन् । भालुवाङ घटनामा एक निमेष मै १२ जनाले ज्यान गुमाउनु परेको छ । २३ जनाभन्दा बढी घाइते भएका छन् । नेपालमा प्रत्येक वर्ष २ हजार ८८० जनाको मृत्यु सडक दुर्घटनाबाट हुने गरेको छ भने प्रत्येक वर्ष १४ हजार ४ सय व्यक्ति सडक दुर्घटनामा परेर घाइते हुने गरेको तथ्याङ्क रहेको छ ।

शुक्रबार राति दाङको भालुवाङमा भएको यात्रुवाहक बस दुर्घटनामा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सल्लाहकार समितिका सदस्य, इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष तथा बरिष्ठ माक्र्सवादी लेखक तथा समालोचक एवम् सौन्दर्य चिन्तक प्रा.डा.ताराकान्त पाण्डेयसहित १२ जनाको मृत्यु भएको थियो । बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बस दाङको भालुवाङस्थित राप्ति नदीमा खस्दा मृत्यु हुनेको १२ जनाको मृत्यु भएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । उनका अनुसार मृतकका शवलाई लमहीस्थित लमही अस्पतालमा राखिएको छ भने केहीलाई आफन्तको जिम्मा लगाइसकिएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा मकवानपुरको हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ का ६५ वर्षीय प्रा.डा. ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाको चन्दननाथ नगरपालिका–९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमको गोतामकोट–९ का २५ वर्षीय दीपक डाँगी, भारत विहारका ६७ वर्षीय योगेन्द्र राम तथा बाँकेको नेपालगञ्जकी ६० वर्षीया कुसुम बस्नेत लगायत रहनु भएको छ । दुर्घटनामा परी घाइते भएकामध्ये आठ जनाको बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । उनका अनुसार पाँचवटा एम्बुलेन्समा घाइतेलाई शिक्षण अस्पताल पठाइएको थियो ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वलबहादुर सिंहका अनुसार नमस्ते यातायातको भे१ख ३९१२ नम्बरको बस गए राति १०ः३० बजे राप्ति नदीमा खसेको हो । प्रहरीले बसका चालक सल्यान घर भएका २८ वर्षिय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ । उनले प्राविधिक खराबी आउँदा दुर्घटना भएको प्रहरीलाई बयान दिएका छन् । उनका अनुसार गाडीको चक्का नघुमेको र एक्कासि पुलको रेलिङ क्रस गरेर नदीमा बस खसेको थियो । तर, दुर्घटनास्थल नजिकै प्रहरी चेकिङ भएपनि चालकले नरोकी तीव्र गतिमा बस हुँइक्याएको पाइएको छ । उनले भाग्ने क्रममा सन्तुलन गुमाए कि साँँच्चै नै प्राविधिक समस्याकै कारणले त्यहाँ रोकेनन् भन्नेबारे प्राविधिक जाँचपछि खुल्ने प्रहरीको भनाइ छ । दुर्घटनाका बाँँच्न सफल भएकाहरुका अनुसार दुर्घटनाअघि नै बसले सन्तुलन गुमाएको थियो । बसले सन्तुलन गुमाउन थालेपछि एक यात्रु ढोकाबाट हामफालेर बाँच्न सफल भएका थिए । यसैगरी चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरामा शनिबार दिउँसो भएको सवारी साधन दुर्घटनामा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

काठमाडौँबाट चित्लाङतर्फ जाँदै गरेको प्र३–०१–२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसी दुर्घटना भएको थियो । अपराह्न १ः५५ बजेको समयमा भएको दुर्घटनाबाट चार जनाको घटनास्थलमै मृत्यु भएको थियो । यस्तै दुर्घटनामा घाइते छ वर्षीया स्मारिका गौतमको पनि उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको ढुंगेलले बताए । घटनास्थलमै मृत्यु हुनेमा काठमाडौँ मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, सोही स्थानका ६४ वर्षीया कल्पना तिवारी, काठमाडौँ लाजिम्पाटका डा महेशकुमार गौतम र सोही ठाउँका चार वर्षीय प्रियान्स गौतम थिए । दुर्घटनामा स्मारिकाकी आमा डा सृष्टि तिवारी गौतम सकुशल रहेको प्रहरीले जनाएको छ ।

उता बागलुङको ढोरपाटन नगरपालिका–५ ट्याङखोलामा बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध।१ ज १९ नम्बरको जिप शनिबार बिहान दुर्घटना हुँदा चालक ढोरपाटन नगरपालिका–४ खुङगा बस्ने २७ वर्षीय तिलक घर्ती मगर र जिपमा सवार काठमाडौँ चन्द्रागिरि नगरपालिका–१० सतुङ्गल बस्ने २८ वर्षीया सङ्गीता अधिकारी गैरेको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार ९ जनाको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ बागलुङमा उपचार भइरहेको छ । त्यस्तै काठमाडौँकै नागार्जुन नगरपालिका–४ बाफस्थित सोल्टी दोबाटो नजिक बा.९१ प १५९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक काठमाडौँ कोटेश्वर बस्ने ४५ वर्षीय रबिन कुमार श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो ।

उता झापाको झापा गाउँपालिका-५ स्थित सडकमा बा.४६ प २१०२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ३२ वर्षीय गुनाल राजवंशीको शुक्रबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसै गरी दोलखाको जिरी नगरपालिका४ सिउरेनीमा लु।३ त ६८८२ नम्बरको ट्याकटर आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका -४ मोक्पा बस्ने २४ वर्षीय दावा शेर्पाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि काठमाडौँतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।