0 COMMENTS

पुस २८, भक्तपुर । अहिले जोकोही रुघाखोकी, ज्वरो, टाउको दुख्नेलगायत समस्याबाट ग्रसित छन् । कोरोनाको नयाँ सब–भेरियन्ट जेएन वान नेपालमा समेत पुष्टि भएसँगै आम नागरिक त्रसित छन् । अन्य भेरियन्टझैं जेएन वानको पनि सामान्य लक्षण रहेको हुँदा अहिले मानिसहरु आफुलाई रुघाखोकी, ज्वरो, टाउको दुख्दा समेत कतै कोरोना त लागेन ? भनेर डराइरहेका छन् ।

छिमेकी मुलुक भारत र चीनमा जेएन वान फैलिसकेको छ । तर, सरकारले सीमाना, नाका, विमानस्थललगायतमा कोरोना चेकजाँचको व्यवस्था मिलाएको छैन । यसले बाहिरी मुलुकबाट आएका व्यक्तिहरु सिधैं आफ्नो घर वा होटल, रेस्टुरेन्ट गएका छन् । र, उनीहरु संक्रमित रहेमा अन्यलाई पनि कोरोना सर्ने जोखिम बढ्दो छ ।

सरकारले घर–घरमा कोरोना संक्रमण परीक्षण गरेमा आधाभन्दा बढी मानिस संक्रमित रहेको भेटिनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनअघि एक सूचना जारी गर्दै जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न अनुरोध गप्यो । मन्त्रालयले भीडभाड हुने ठाउँमा नजान, सामाजिक दुरी कायम राख्न, साबुन पानीले अनिवार्य हात धुन, स्यानिटाइजरको प्रयोग गर्न र मास्क अनिवार्य रुपमा लगाउन भनेको हो ।

अहिले मठमन्दिरमा मानिसहरुको भीड देखिन्छ । तर, त्यहाँ कसैले पनि जनस्वास्थ्यको मापदण्ड पालना गरेको देखिदैंन । न कसैले मास्क लगाएको देखिन्छ न त सामाजिक दुरी नै कायम गरेको हुन्छ । फिल्म हलहरुमा पनि त्यस्तै छ । न त मुखमा मास्क लगाइएको हुन्छ न त दुरी कायम गरिएको हुन्छ ।

गोंगबु नयाँ बसपार्क, जडीबुटी, कलंकी, कोटेश्वरलगायतमा मानिसहरुको भीडभाड देखिन्छ । तर, त्यहाँ पनि सरकारले तोकेको जनस्वास्थ्यको मापदण्ड पालना गरिएको छैन । काठमाडौं उपत्यकाका तरकारी तथा फलफूल बजारमा पनि त्यस्तै भीड छ । त्यहाँ पनि मानिसहरुले मुखमा मास्क लगाएका छैनन् । ड्राइभिङ सेन्टरहरुमा पनि यस्तै हालत छ ।
त्यहाँ आएका सेवाग्राहीहरुले न मुखमा मास्क लगाएका दुरी कायम नै गर्छन् । राहदानी विभाग र सिडियो कार्यालयमा पनि भीडभाड छ । दोहोरी साँझ, डान्स रेस्टुरेन्टलगायतमा पनि यस्तै छ । त्यहाँ आउने ग्राहकहरुले जनस्वास्थ्यमा मापदण्ड पालना गरेको हुदैंन । पार्टी प्यालेन्सहरुमा पनि विवाह, व्रतबन्ध, भोजभतेर गर्नेहरुको भीड छ भने त्यहाँ पनि मानिसहरुले जनस्वास्थ्यका मापदण्ड पालना गरेको पाइदैंन ।

भाटभटेनी, सुपरमार्केट, बिग मार्टलगायतमा पनि मानिसहरुको चाप बढ्दो छ । तर, जनस्वास्थ्यका मापदण्ड पालना गर्न भने कसैले ध्यान दिएको देखिदैंन । बैंकमा बस्ने कर्मचारी तथा सेवाग्राहीहरुले पनि मुखमा मास्क लगाएको हुदैंन । वर्कशपहरुमा पनि मानिसहरुको भीड छ ।

तर, त्यहाँ पनि जनस्वास्थ्यका मापदण्ड पालना गरेको हुन्न । लामो वा छोटो रोडमा चल्ने सवारीसाधनमा कोचाकोच यात्रु हालिएको हुन्छ । त्यहाँ न चालक, सहचालकले मुखमा मास्क लगाएको देखिन्छ न त यात्रुले नै । निजी वा सरकारी विद्यालय, कलेजमा समेत जनस्वास्थ्यका मापदण्ड पालना गरिएको हुन्न ।

त्यहाँ न त शिक्षक, शिक्षिकाले मुखमा मास्क लगाएको देखिन्छ न त बालबालिका, विद्यार्थीले । पसलमा बस्ने व्यापारीहरुले पनि मास्क लगाएका हुन्न । बाटोमा हिँिडरहेको व्यक्ति वा सार्वजनिक स्थलमा बसिरहेको व्यक्तिले समेत मुखमा मास्क लगाएको देखिदैंन । सरकारी कार्यालयमा समेत कर्मचारीहरुले मास्कको प्रयोग गरिएको देखिदैंन ।

उल्टै सबै कर्मचारी एकै ठाउँमा भेला भई गफ गरेर बसेको देखिन्छ । अहिले त बाटोमा खटिएका सुरक्षाकर्मीले समेत मास्क लगाउँदैनन् । राजनीतिक दलका नेताहरुले अहिले पनि सभा, गोष्ठीलगायत विभिन्न कार्यक्रम गरिरहेको पाइन्छ । तर, कार्यक्रममा जनस्वास्थ्यका मापदण्ड पालना गरिएको देखिदैंन ।

न त कसैको मुखमा मास्क देखिन्छ न त सामाजिक दुरी नै कायम गरिएको हुन्छ । झन् राष्ट्रपति, प्रधानमन्त्री समेत त्यस्ता कार्यक्रममा सहभागी भएको देखिन्छ । प्रहरीले अभियुक्तलाई पक्राउ परेपछि कोरोना चेकजाँच गर्दैन । सिधैं अदालतमा म्याद थप गर्न लगिन्छ । जेलभित्र बसेका कैदीबन्दीको कोरोना चेकजाँच गरेमा त्यहाँ नै संक्रमितको लाम लाग्ने छ ।

स्वास्थ्य मन्त्रालय सूचना निकालेर जनस्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध त गर्छ । तर, अनुरोध गर्दैमा सबै काम हुन्छ र ? अनुगमन चाँहि गर्नु पर्दैन ? ०७६ सालमा विदेशबाट नेपाल आएको एक व्यक्तिमा कोरोना संक्रमण देखिनेबित्तिकै सरकारले लकडाउन गप्यो ।

लकडाउन गर्दागर्दै पनि हजारौं सर्वसाधारणले कोरोनाका कारण ज्यान गुमाए । कोरोनाको नयाँ सब–भेरियन्ट नेपालमा पनि पुष्टि भइसकेको छ । तर, सरकार न त जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न लगाउँछ न त लकडाउन गर्नका लागि स्वास्थ्य मन्त्रालयले प्रस्ताव नै लग्छ ।

सरकारी होस् या निजी विद्यालयमा बिरामी र डाक्टरहरुले नै मुखमा मास्क लगाएकोे देखिदैंन । सरकार कोरोना परीक्षण समेत निःशुल्क गर्न सक्दैंन । अहिले पनि कोरोना परीक्षणको महंगो शुल्क लिइन्छ । अनि कसले गर्छ परीक्षण ? मानिसहरुलाई बिहान–बेलुकाको छाक टार्न हम्मेहम्मे परिरहेको अवस्थामा को यत्रो महंगो शुल्क तिरेर कोरोना परीक्षण गर्छ ?

भारतबाट आएका विभिन्न व्यापारव्यवसायीहरु घरघरमा आउँछन् । अनि उनीहरुमा कोरोना संक्रमण भएमा सबैलाई सर्ने छ । कोरोनाले भयावह रुप लिने त्रास बढेको छ । जनताहरु बिरामी हुदैं गएका छन् । तर, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत अहिले पनि कताबाट कमिशन आउँछ भनेर दौडधुप गरिरहेका छन् ।

गृह मन्त्रालयले पनि जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने व्यापारव्यवसायी, व्यक्ति, संघसंस्थालाई कारबाही गर्न ७७ ओटै जिल्लाका सिडियो कार्यालयलाई परिपत्र गरेको छैन । सर्वसाधारण आत्तिसकेका छन् । पहिला पनि सरकारको हेलचेक्याईका कारण कयौंले आफ्नो आफन्त, घरपरिवार गुमाउनुपप्यो ।

अब पनि कोरोनाकै कारण आफ्नो परिवार गुमाउनु पर्ने हो कि भन्ने त्रास उनीहरुमा छ । कोरोना कसरी नियन्त्रण गर्ने ? भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म चासो देखाएका छैनन् । पैसा, सामानलगायत विभिन्न वस्तुबाट समेत कोरोना सर्ने बताइन्छ । अघिल्लो चोटि आएको कोरोनाले नेतादेखि सरकारी कर्मचारी,जनप्रतिनिधि, पत्रकार, सर्वसाधारण सबैको ज्यान लियो ।

अबको कोरोनाले भने कस–कसको ज्यान लिन्छ ? यो हेर्न मात्र बाँकी छ । कोरोनाले फेरि पनि महामारीको रुप लिनुअघि सरकारले आवश्यक कदम अघि चाल्नुपर्छ । जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न लगाउनुपर्छ । नत्र कारबाही गर्नुपर्छ । भीडभाड हुन दिनुहुन्न । हरेकलाई मास्कको अनिवार्य प्रयोग गर्न लगाउनुपर्छ ।

बुढाबुढी, दीर्घ रोगी, गर्भवती, बालबालिकालगायतलाई अनावश्यक रुपमा घर बाहिर निस्कनमा रोक लगाउनुपर्छ । सरकारले कोरोना नफैलिएको दाबी गरिरहँदा अस्पतालहरुमा पनि बिरामीहरुको चाप लाग्न थालिसकेको छ । आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरु पैसा नभएपछि अस्पताल गएका छैनन् । उनीहरु मृत्युकोमुख कुरेर बसिरहेका छन् । यता, पैसा भएका व्यक्ति समेत अस्पताल गएमा कोरोना संक्रमण देखिने डरले घरमै बसेका छन् ।

सरकारले समयमै ध्यान दिएमा कोरोनाका कारण सर्वसाधारणले आफ्ना ज्यान गुमाउनु पर्दैन । तर, लापरबाही गरेमा फेरि पनि हजारौंले आफ्नो ज्यान गुमाउनु पर्नेछ । स्वास्थ्य मन्त्रालयकै अगाडि सार्वजनिक यातायातमा सहचालक, चालकले गुन्द्रक कोचेझैं यात्रु कोचेका हुन्छन् । मानिसहरु मास्क नलगाइ हिँडिरहेको देखिन्छ ।

तर, मन्त्रालय भने एउटा सूचना निकालेर आफ्नो काम पूरा भएको ठान्छ । सरकारले जनताबाट कर उठाउने मात्र होइन । सर्वसाधारणको बाँच्ने अधिकार सुरक्षित पनि गर्नुपर्छ । कोरोना नियन्त्रणका लागि सरकारले अहिले नै आफ्नो गाउँघर फर्किन चाहनेलाई सचेत गराउनुपर्छ । सरकारलाई त जनताको मतलब छैन ।

तर, जनताले आफ्नो ज्यानको सुरक्षा आफैंले गर्नुपर्छ । भीडभाडमा जानुहुन्न । मास्क अनिवार्य प्रयोग गर्नुपर्छ । सरकारले ऐन, कानून बनाउन सक्छ, कार्यान्वयन गराउन सक्छ तर मान्छे जन्माउन सक्दैंन । सरकारले मान्छे जन्माउन सक्दैंन भने उसलाई मार्ने अधिकार पनि छैन । त्यसैले, सर्वसाधारणको बाँच्न पाउने हक, अधिकार सरकारले सुरक्षित गर्नुपर्छ ।

पछिल्लो समय सरकार गोली ठोकेर जनताको ज्यान लिन अनि दश लाख क्षतिपूर्ति दिन्छ । के नागरिकको ज्यानको मूल्य दश लाख हो ? दश लाख दिएर जनताको ज्यान लिन पाइन्छ ? त्यसैले, अब सरकारले मतलब नगरेपनि जनताले आफ्नो ज्यानको सुरक्षा आफैंले गर्नुपर्छ । कोरोनाबाट आफु पनि बच्नुपर्छ र आफ्नो परिवारलाई पनि जोगाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।