0 COMMENTS

पुस १२, काठमाडौँ । सांसदहरुले एनसेलको बिक्रीका विषयमा संसदीय छानबिनको माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसदहरुले सरकारले गठन गरेको छानबिन समितिले गर्ने अनुसन्धानमा आशंका गर्दै संसदीय छानबिनको माग गरेका हुन् ।

‘सरकारले गठन गरेको समितिले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीको बयान लिन सक्छ?’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रश्न गरिन् ।

प्रतिनिधि सभाकै राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिदकर्तासँग आफ्नो, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र केपी शर्मा ओलीको सम्बन्ध रहेको बताएका थिए ।

नेकपा एमालेका सांसद प्रभु हजराले एनसेलको शेयर खरिदबिक्रीबारे अध्ययन गर्न पूर्व कर्मचारीको नेतृत्वमा सरकारले बनाएको समितिले प्रभावकारी काम गर्न नसक्ने दाबी गरे । मलेसियन कम्पनी आजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर मा बिक्री गरेको बताएको छ । यस्तो सूचना बाहिरिएसँगै यसका सम्बन्धमा प्रश्न उठेको थियो ।

त्यसपछि सरकारले गत मंसिर २९ गते पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा एनसेलको सेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन गर्न छानबिन समिति गठन गरेको थियो ।

एक महिनाको अवधि पाएको यो समितिमा नेपाल सरकारका सचिव फणीन्द्र गौतम, सहसचिव रितेशकुमार शाक्य, सहसचिव बाबुराम भण्डारी र सुजनकुमार काफ्ले सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।