0 COMMENTS

पुस १०, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको युवा सङ्गठन क्रान्तिकारी युवा सङ्गठन, नेपालले १३१ औँ माओ जयन्तीको अवसरमा विशाल लालमार्च प्रदर्शन गरेको छ । मङ्गलबार काठमाडौँको खुला मञ्चबाट क्रान्तिकारी युवा सङ्गठन, नेपालको नेतृत्वमा मार्चपास गरिएको हो । उक्त लालमार्चमा दलाल राज्यव्यवस्था र साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरूका विरुद्ध चर्को नाराबाजी समेत गरिएको थियो ।

क्रान्तिकारी युवा सङ्गठन नेपालको आयोजनामा गरिएको लाल मार्चपास शान्तिबाटिकामा कोणसभामा परिणत भएको थियो । कोणसभालाई विशेष सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले अहिलेको सत्ता र व्यवस्थाबाट जनताका समस्या समाधान हुन नसक्ने बताए । साथै उनले वर्तमान राज्य सत्ता र संसदीय व्यवस्थाको अन्त्यका लागि सङ्घर्ष गर्ने घोषणासमेत गरे । लालमार्चको नेतृत्व समेत गरेका अध्यक्ष किरणले शासन सत्ता फेरिएको भए पनि शोषण, उत्पीडनका रूपहरू पुरानै रहेको बताए  ।

खुल्लामञ्चबाट निकालिएको लालमार्च जमल, घन्टाघर, बागबजार, पुतलीसडक, पद्मोदयमोड, प्रदर्शनीमार्ग, सहिदगेट, सुन्धरा, वायुसेवा निगम, वीरअस्पताल हुँदै रत्नपार्क शान्तिबाटिकामा पुगेर विशेष समारोहमा परिणत भएको थियो ।

अध्यक्ष किरणले मशाल बालेर र झन्डा उत्तोलन गरेर माओ दिवस समारोहको उद्घाटन गरेका थिए । क्रान्तिकारी युवा सङ्गठन, नेपालका अध्यक्ष हरिश भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी अध्यक्ष किरणले विशेष सम्बोधन गरेका थिए भने पार्टीका कार्यालय सदस्य तथा युवा नेता उदयबहादुर चलाउने ‘दिपक’ र अखिल (क्रान्तिकारी) का संयोजक मिलन राई लगायतका नेताहरूले पनि सम्बोधन गरेका थिए ।

समारोह चलिरहेको बेला प्रहरीले कार्यक्रममा हस्तक्षेप गर्ने प्रयास गरेको थियो । युवाहरूले त्यसको संयमतापूर्वक सशक्त प्रतिरोध गरेपछि स्थिति साम्य भएको थियो र कार्यक्रम सुचारू रूपमा अगाडि बढेको थियो । कार्यक्रमको बीच बीचमा सामना साँस्कृतिक परिवारले क्रान्तिकारी गीत तथा नृत्य प्रस्तुत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।