0 COMMENTS

‘महान नेता कमरेड स्तालिनको १४५ औँ जन्म दिवस’

पुस ६, काठमाडाैँ । ‘सर्वहारा वर्गका एक महान नेता कमरेड स्तालिनलाई सम्मान गराैँ, साम्राज्यवादका विरुद्ध क्रान्तिकारी झण्डा अझै उँचो उठाऊँ !’ आव्हानका साथ सर्वहारा वर्गका महान नेता स्तालिनको १४५औँ जन्म दिवसको अवसरमा संसारभरिका क्रान्तिकारीहरुमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले क्रान्तिकारी शुभकामना व्यक्त गरेको छ । कमरेड स्तालिन १८ डिसेम्बर १८७८मा जन्मनु भएको थियो र सन १९५३मा ७५ वर्षको उमेरमा निधन भएको थियो ।

दोश्रो विश्वयुद्धको समयमा समाजवादी सोभियत संघले स्तालिनको नेतृत्वमा अमेरिका र बेलायतसँग एकप्रकारको संयुक्त मोर्चा बनाएर जर्मन तथा जापानी साम्राज्यवादी गठबन्धनलाई परास्त गरेको थियो । विश्वयुद्धमा समाजवादी सोभियत संघको विजय हुनुको परिणाम भारत लगायत उपनिवेश बनाइएका एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरुबाट बेलायती, फ्रात्सेली, पोर्चुजिग लगायत तमाम साम्राज्यहरु फिर्ता हुन बाध्य भएको थियो भने बेलायती साम्राज्यको पतनसंगै उही स्तरमा फैलन खोजेको अमेरिकी साम्राज्यवादको विस्तार रोकिएको थियो ।

दोश्रो विश्वयुद्धमा समाजवादको विजयले विश्वको एकतिहाई भूभागमा समाजवादी सत्ता स्थापना मात्र भएन, चीन, मंगोलिया, पूर्वी युरोप लगायतका देशहरुमा समाजवादी सत्ता स्थापना भएपछि स्तालिन र माओ त्से तुङको नेतृत्वमा विश्वका जनताको रोग, भोक, अशिक्षा, बेरोजगारी, गरिबीबाट मुक्त हुन समाजवादी देशहरुमा व्यापक उत्पादन सुरु गरिएको थियो । देशको भौगोलिक बनावट, उपलब्ध कच्चा पदार्थ र बजारको अवस्था हेरी विश्वका तमाम साना र गरिव देशहरुका जनताको समस्या समाधान गर्न लत्ताकपडा, पाठ्यपुस्तक, शैक्षिक सामग्री उत्पादन र वितरण गर्ने औद्योगिक प्रतिष्ठानहरु स्थापना गरिएका थिए । परिणामस्वरुप नेपालमा पनि रुस र चीनको सहायतामा तमाम उद्योगहरु खोलिएका थिए । यो सहयोगले साम्राज्यवादी लुटखसोट र उत्पीडनबाट पिल्सिएका जनतालाई ठुलो राहत मिलेको थियो ।

समाजवादी सोभियत युनियनको नेतृत्व गर्ने स्तालिन महान् दार्शनिक लेनिन पछिको त्यो नेता हुनु हुन्थ्यो जसले लेनिनपछि समाजवादी सत्तालाई निरन्तरता र विकाश मात्र गर्नु भएन, साम्राज्यवादी उत्पीडनबाट मुक्त हुन राष्ट्रिय मुक्ति आन्दोलन गरेका विश्वभरका संघर्षहरुलाई समर्थन गर्नु भएको थियो । दोश्रो विश्वयुद्धमा समाजवादी विजयको परिणाम साम्राज्यवादी लुटेराहरु पछि हट्नु परेको थियो र विश्वमा साम्राज्यवादी देशहरुको एकाधिकारलाई नियन्त्रण गर्न २४ अक्टोवर १९४५मा सोभियत रुस, चीन, फ्रान्स, बेलायत र संयुक्त राज्य अमेरिका र उपनिवेशबाट मुक्त भएका कतिपय देशहरु सहित ५० देशहरुको उपस्थितिमा संयुक्त राष्ट्रसंघको निर्माण गरिएको थियो ।

स्तालिनको नामले अहिले पनि विश्वका साम्राज्यवादीहरु आतंकित हुने गरेका छन् । किनभने स्तालिन नै त्यस्तो समाजवादी नेता हुनु हुन्थ्यो, जसको नेतृत्वमा महान दार्शनिक लेनिन पछि साम्राज्यवादी उत्पीडनबाट मुक्त हुन संघर्ष गरेका विश्वका जनताको समर्थन गर्नु भएको थियो ।

पार्टीका प्रवक्ता कञ्चनले जारी गरेको वक्तव्यमा संसारभरका जनताले महान स्तालिनको झण्डालाई उचौ रुपमा उठाउन आवश्यक रहेको उल्लेख गर्दै भनिएको छ, “साम्राज्यवादका विरुद्ध मुक्तिकामी जनताको एकता आवश्यक छ । समाजवादी महान् नेता स्तालिनको १४५औ जन्म दिवसको अवसरमा हाम्रो पार्टी सम्पूर्ण मुक्तिकामी जनतामा हार्दिक शुभकामना व्यक्त गर्दछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।