0 COMMENTS

मङ्सिर १५, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा उच्च अदालत पाटनबाट आज आदेश आउने भएको छ । उच्च अदालत पाटनमा परेको पुनरावेदन निवेदनमाथिको सुनुवाई बिहीबार सकिएको थियो ।

पूर्वउपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सरकारका सचिव टेकनारायण पाण्डे लगायत २० जनाको निवेदनमा १० दिनदेखि उच्च अदालतमा सुनुवाइ चलिरहेको थियो । न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासले सुनुवाइ सकेकाले शुक्रबार आदेश सुनाउने उच्च अदालतका एक अधिकारीले बताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले ३० जनालाई प्रतिवादी बनाएर गत जेठ १० मा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो ।

किर्ते, ठगी, संगठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोहीअनुसार सजायको माग दाबीसहित मुद्दा दर्ता भएको थियो । मुद्दामा २८ करोड ८१ लाख रुपैयाँ बिगो कायम गरी बिगो र सोही बमोजिम जरिवाना समेत माग गरिएको थियो । उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले गत असार १ गते पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाण, सचिव पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल लगायतलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

अदालतको आदेशमा २० जना पुर्पक्षका लागि थुनामा छन् । उनीहरुले आदेश त्रुटिपूर्ण रहेको भन्द उच्च अदालतमा पुनरावेदन गरेका थिए । पुनरावेदनमाथि सुनुवाइ सकेको उच्च अदालतले थुनामै राख्ने नै रहने, धरौटी वा साधारण तारेखमा छुट्ने आदेश गर्न सक्नेछ । योसँगै रायमाझी, खाँण छुट्छन् कि भुनामै रहन्छन् भन्ने विषय चाँसोको साथ हेरिएको छ । केही कानून व्यवसायीहरुले धरौटीमा छुट्न सक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।