0 COMMENTS

कात्तिक २०, काठमाडौँ । देश भूकम्पीय विपत्तिबाट गुज्रिरहेका बेला नेपाल सरकारका राष्ट्रपतिसहित मन्त्रीहरू राज्यकोषको करोडौं रुपैयाँ खर्चेर विदेश भ्रमण गर्दैछन् । शुक्रबार राति कर्णाली प्रदेशमा गएको भूकम्पले १५३ जनाको मृत्यु भएको छ भने २५६ जना घाइते भएका छन् । यस्तै भूकम्पमा परि रुकुम पश्चिमको बाहेक झन्डै १० हजार घरमा क्षति भएको प्रारम्भिक अनुमान छ । गृह मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका अनुसार यसमध्ये ९३७ घर पूर्णरूपमा भत्किएको छ । तर, मुलुक विपत्तिमा परेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाटै चिन्ता व्यक्त भइरहेका वेला राष्ट्रपति र नेपाल सरकारका मन्त्रीहरू भने वैदेशिक भ्रमणको अशोभनीय तयारी गरिरहेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल कात्तिक २२ गते यूरोपको शयरमा निस्किँदै छन् । फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन जान लागेका राष्ट्रपति पौडेल कार्यक्रमपछि जर्मनी र इटाली पनि घुम्न निस्किनेछन् । जर्मनी र इटलीमा उनको कुनै कार्यक्रम छैन । उनी मंसीर १ गते मात्रै नेपाल फर्किने कार्यक्रम छ ।

कात्तिक १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलको विदेश भ्रमण स्वीकृत गरेको थियो । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले आइतबार कार्यालय समयसम्ममा राष्ट्रपतिको भ्रमणको कार्यक्रम हेरफेर नभएको बताइन् । मुलुकले विपत्तिको सामना गरिरहेको वेला र नागरिक शोकमग्न रहेका वेला राष्ट्रपति विदेश भ्रमणमा जाने तयारी गर्नुले गहिरो प्रश्न उब्जेको छ । यसले एकातिर राष्ट्रपतिको नागरिकप्रतिको सहानुभूति र संवेदनशीलताको विषयमा प्रश्न उठाउँछ भने अर्कातिर भूकम्पका कारण स्रोतको थप चाप परिरहेको वेला राष्ट्रपतिको नगए पनि हुने भ्रमणमा व्ययको भार बढाउँछ ।

नेपाली कांग्रेसका नेता लोकेश ढकालले आम नागरिकको भावनालाई समेत कदर गर्दै भूकम्पबाट यति ठुलो जनधनको क्षति पुगेको राष्ट्रिय दुःखको घडीमा राष्ट्रपतिले युरोप भ्रमण रद्द गरे राष्ट्रपतिप्रति सम्मान बढ्ने सामाजिक सञ्जाल एक्समा लेखेका छन् । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका तत्कालीन सल्लाहकार टीका ढकालले पनि राष्ट्रपतिको फजुल खर्ची यूरोप भ्रमण रद्द गर्न सुझाव दिएका छन् । उनले सामाजिक सञ्जाल एक्समा शोकका वेला भ्रमणमा निस्कँदा आतिथेय मुलुकमा मुलुकको प्रतिष्ठा र गणतन्त्रको सम्मान नबढ्ने भनी लेखेका छन् ।

त्यसो त, राष्ट्रपति पौडेल मात्रै होइन्, सरकारका अन्य मन्त्रीहरू पनि मुलुकको विपत्तिका वेला राज्यकोषको रकम खर्च गरेर विदेश भ्रमणमा गइरहेका छन् । जाजरकोट भूकम्पको भोलिपल्टै शनिबार राति उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल चीन भ्रमणमा गए । चीनको शाङ्हाईमा आइतबारबाट शुरू भएको छैटौं चीन अन्तर्राष्ट्रिय आयात मेलामा भाग लिन मन्त्री रिजाल चीन भ्रमणमा निस्किएका थिए । उनको भ्रमण दलमा स्वकीय सचिव वृहस्पति श्रेष्ठ सहितका व्यक्ति छन् । उनी २४ कात्तिकमा नेपाल आउने कार्यक्रम रहेको मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले बताए ।

त्यसैगरी, कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसाल कात्तिक २१ मा चीनको भ्रमणमा निस्किंदैछन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगै मन्त्री भुसाल साताव्यापी लामो चीन भ्रमणमा जान लागेका हुन् । उनी कात्तिक २८ मा नेपाल आउने कार्यक्रम रहेको मन्त्रीको सचिवालयका उपसचिव सुशील भट्टराईले बताए । त्यसैगरी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई पनि कात्तिक २० मा फ्रान्सको पेरिस भ्रमणमा निस्किएका छन् । पेरिसमा हुने यूनेस्कोको महासभामा भाग लिन मन्त्री राई युरोप गएका हुन् । उनी कात्तिक २९ मा मात्रै देश फर्किनेछन् ।

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी पनि चीन भ्रमणमा छिन् । कात्तिक २० र २१ मा चीनको छोङ्छिङमा आयोजना हुने बेल्ट एन्ड रोड कन्फेरेन्स अन साइन्स एन्ड टेक्नोलोजी कार्यक्रममा भाग लिन उनी आइतबार चीन भ्रमणमा गएकी हुन् । त्यसैगरी, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल पनि कात्तिक १९ मा भारत भ्रमणमा गएका छन् । उनी भारतको सीमा सुरक्षा बलको महानिर्देशक र नेपालको सशस्त्र प्रहरी बलका महानिरीक्षकबीच हुने वार्षिक बैठकमा भाग लिन भारत पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।