0 COMMENTS

कात्तिक १७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले नेपालमा क्रान्ति सम्पन्न गर्नका लागि विचारधारा र कार्यदिशाको विकासको आवश्यकता रहेको स्पष्टोक्ति दिंदै त्यसका लागि अनुसन्धानात्मक गहिरो अध्ययनको खाँचो औल्याउनु भएको छ । पार्टीको ६ दिने केन्द्रीय स्कूलिङको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले फेसबुके अध्ययनबाट क्रान्ति नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, “अज्ञानताको त्रासदीले क्रान्ति हुँदैन, क्रान्ति ध्वस्त पार्छ । जानेको केही हुँदैन, सबैथोक जानेको छु भन्छ । के गर्ने ? अहिलेको अवस्थामा अज्ञानताको त्रासदीका विरुद्ध दृढतापूर्वक लडेर क्रान्तिका लागि विधारधारा र कार्यदिशाको विकास गर्न जरुरी छ । विचारधारा र कार्यदिशाको विकास नगरी अहिले जे छ त्यहीबाट क्रान्ति हुने वाला छैन ।”

उहाँले पार्टीले एकता महाधिवेशनलाई खोज अनुसन्धानमूलक बनाउने र महाधिवेशनबाट विचारधारा र कार्यदिशामा थप विकास गर्ने दिशामा अगाडि बढेको बताउनु हुँदै पार्टी केन्द्रले चलाएको यो केन्द्रीय स्कूलिङबाट पार्टीको महाधिवेशनको उक्त कार्यभार पूरा गर्न सहयोग पुग्ने पनि स्पष्ट पार्नुभयो ।

उहाँले अहिले फेसबुकको जमाना आएको भन्दै फेसबुेक अध्ययनबाट क्रान्ति नहुने पनि बताउनु भयो । ६ दिने पार्टी स्कूलिङले अध्ययनका लागि पार्टीका नेता कार्यकर्ताहरुलाई उत्प्रेरित गरेको चर्चा गर्दै गहिरो गरी अनुसन्धानात्मक अध्ययनका लागि जोड दिन पनि नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

पार्टीका कार्यालय सदस्य बसन्तको अध्यक्षता र सचिवालय सदस्य शार्दुलको सञ्चालनमा सम्पन्न स्कूलिङ समापन कार्यक्रममा पार्टीका कार्यालय सदस्य तथा पार्टी स्कूल विभागका प्रमुख राजवीरले पार्टी स्कूलिङको आवश्यकता र महत्वमाथि प्रकाश पार्दै समयको चापका बाबजुद सापेक्षिक रुपमा ६ दिने स्कुलिङ सफल रहेको र आगामी दिनमा अझ समयको व्यवस्थापन गरी स्कूलिङलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने बताउनु भयो ।

समापन कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट पार्टी सचिवालय सदस्यहरु अन्जना, खलिल र सल्लाहकार सदस्य शालिकराम भण्डारीले अनुभूति मन्तव्य राख्नुभएको थियो । उहाँहरुले स्कुलिङले अध्ययन र बुझाईलाई नयाँ स्तरमा उठाउन धेरै महत्वपूर्ण रहेको बताउनुहुँदै यसलाई आगामी दिनमा थप अन्तक्र्रियामुखी बनाएर लैजानुपर्ने अनुभूति राख्नुभएको थियो ।

कार्यक्रममा प्रशिक्षकहरु गौरव, प्रतीक, एसटी, प्रभाकिरण, गुराँस लगायतका नेताहरुको उपस्थिति रहेको थियो । प्रमुख अतिथि अध्यक्ष किरणलगायत अतिथि तथा प्रशिक्षकहरुले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।