0 COMMENTS

कात्तिक ४, काठमाडौँ । आज दशैंको सातौं दिन । आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती घरमा भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ । केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन् ।

फूलपाती भित्र्याएपछि नववटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।