0 COMMENTS

असोज १०, काठमाडौँ । आज सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । ‘सबैका लागि पर्यटन : पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ ।

दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउँदै छन् । ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा विश्व पर्यटन दिवस मनाउन लागिएको पर्यटन मन्त्रालयले जनाएको छ । 

दिवस भव्यरूपमा मनाउन पर्यटनमन्त्री सुदन किरातीको संयोजकत्वमा ४४औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ ।

मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार आज बिहान ६ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट आएका विदेशी पर्यटकलाई पर्यटनमन्त्री किरातीले स्वागत गरेका छन् ।

यस्तै बिहान साढे ७ बजे ललितपुरको पाटन ढोकाबाट मङ्गलबजारसम्म प्रभातफेरी गरिनेछ । पाटन दरबार क्षेत्रमा औपचारिक कार्यक्रममा हुनेछ । 

पर्यटन मन्त्रालय र ललितपुर महानगरपालिकाले संयुक्तरूपमा आयोजना गर्ने उक्त कार्यक्रममा बढी विदेशी मुद्रा आर्जन गर्ने संस्था, पर्वतारोही, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई पर्यटन क्षेत्रका विभिन्न आठ विधामा सम्मान गरिने कार्यक्रम छ ।

पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ को आठ महिनामा छ लाख एक हजार तीन सय ६० पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष एक लाख ४० हजार ३०० पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

सन् २०२१ मा ५५ हजार चार सय ४७ पर्यटक नेपाल आएका थिए । सन् २०२० मा पर्यटक आगमन संख्या दुई लाख २० हजार ८५ मात्र थियो । सन् २०१९ मा हालसम्मकै बढी ११ लाख ९७ हजार १९१ बाहृय पर्यटक नेपाल घुम्न आएका थिए ।

नेपालमा यतिखेर मुख्य पर्यटकीय सिजन सुरु भएको छ । विभिन्न मुलुकबाट पदयात्री पर्यटक उल्लेख्य संख्यामा नेपाल आउने क्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।