0 COMMENTS

असोज ९, भक्तपुर । दशैं नेपालीहरुको महान चाड हो । दशैं आउनेबित्तिकै सबैतिर उमगं र उत्साह छाउँछ । दशैं आउन महिनादिन बाँकी हुँदा नै किनमेल गर्न, घर जान सम्पूर्ण सामानको जोरजाम गर्नेलगायतका कार्य गरिन्थ्यो । परदेश पुगेका नेपाली पनि दशैं मान्ने घर आउँथे । यता, काठमाडौंमा भएकाहरु पनि घर जाने तयारी गर्थे । सामान खरिद गर्नेहरुको भीड बजारमा एक महिना अगाडिदेखि नै देखिन्थ्यों । जागिर नभएकाहरु दशैं मनाउन महिनादिन अगाडि नै घर जान्थें ।

चोकचोकमा झोला बोकेर गाडी कुरिरहेकाहरुको भीड हुन्थ्यो । तर, यसपटकको दशैंमा ठ्याक्कै उल्टो भएको छ । बजार चनमन्न छ, किन ? यतिबेला त व्यापारीहरुलाई भ्याइनभ्याइ हुन्थ्यो । यद्यपि, अहिले त व्यापारीहरु नै निराश छन् । बजारमा देखिएको आर्थिक मन्दीको सबैभन्दा धेरै मार व्यापारीहरुलाई परेको छ । उनीहरु दशैंमा त व्यापार होला भनेर आश गरेर बसेका थिए । तर, त्यो आश पनि अहिले ‘पानी–पानी’ भएको छ । कसैलाई पनि दशैं नजिकिएजस्तो महसुश नै भएको छैन् ।

आर्थिक मन्दीले बजारलाई छपक्कै छापेको अवस्था छ । सर्वसाधारणहरुसँग पैसा नै छैन्, कहाँबाट किनमेल गर्नु ? एकातिर मँहगी ह्वात्तै बढेको छ अर्कोतिर बेरोजगारी । अहिले धेरैसँग रोजगारी छैन् । रोजगारी भएकाले पनि तलब पाइरहेको अवस्था छैन् । पहिले ज्यामी काम भएनि पाइन्थ्यो । पछिल्लो समय त्यो काम पाउन पनि मुश्किल छ । मँहगीले त सबैको ढाड सेकेको छ । बिहानबेलुका चुल्हो बाल्नसमेत धौं–धौं परेको अवस्था छ । हरेक सामानको मूल्यवृद्धि भएको छ ।

सामान्य दालभात खान पनि महाभारत छ । अनि यस्तोमा दशैं मान्ने खर्च कहाँबाट ल्याउनु ? वित्तिय संस्थामा देखिएको समस्याले पनि अधिकांशलाई मर्कामा पारेको छ । सहकारीहरु रातारात भाग्दा बचतकर्ता त चुलुम्मै डुबेका छन् । खाईनखाई जोरजम्मा गरेको राखेको पैसा लिएर सहकारी सञ्चालन भागेपछि के–को दशैं मनाउनु ? उनीहरु झनै तनावमा छन् । सर्वसाधारणसँग पैसा नभएपछि व्यापारीहरु झिँगा धपाएर बस्नु स्वाभाविकै हो । कतिपय व्यापारी त ‘बोनी’ समेत नभएको गुनासो गर्छन् ।

काठमाडौं यस्तो ठाउँ हो, जहाँ खाली सटर पाउन महामुश्किल हुन्छ । सटरकै लागि ‘हारालुछ’ हुन्छ । तर, अहिले त अधिकांश घरमा ‘सटर खाली छ’ भनेर ब्यानर टाँसेको देखिन्छ । राजधानीका सटरहरु खाली भइसकेका छन् । दिनभरी झिँगा धपाएर बस्नुपर्ने भएपछि को सटर भाडा तिरेर बस्ने ? वास्तवमा भन्ने हो भने सर्वसाधारणसँग घर जाने गाडी भाडासमेत नभएको अवस्था छ । सर्वसाधारणले खाद्यान्न र औषधीबाहेक केही किन्दैनन् ।

माछामासु, दही पनि खान छोडिएको छ । चामल र दाल भएपनि गुजारा चल्छ भन्ने मनशायमा उनीहरु पुगेका छन् । हरियो तरकारी छोइनसक्नु छ । खाद्यान्नको हाहाकार अहिले नै देखिन थालिसकेको छ । चिनी, जिरालगायतका सामग्रीमा भएको मूल्यवृद्धिले सर्वसाधारणको सातो लिएको छ । दशैं नजिकिएसँगै विभिन्न आपराधिक घटना घट्न थालेका छन् । दिँउसै लुटपाट हुन्छ । बाटो हिँड्न पनि डरमर्दो अवस्था छ । बजारमा यस्तै मन्दी देखियो भने दशैंपछि झन् खतरा हुन सक्छ ।

चोरीडकैतीले ठूलो रुपमा लिन सक्छ । आम्दानीको स्रोत नभएपछि के गर्ने ? खानु त पर्यो । सरकार जनतालाई रोजगारी दिन सक्दैन, मँहगीचाँहि बढेको बढ्यै छ । गत पुससम्म चार सय रुपैयाँ किलोग्राममा पाउने जिरा अहिले १३ सय रुपैयाँ किलो पुगेको छ । एक बोरा चामलले पाँच सय रुपैयाँदेखि हजार रुपैयाँसम्म बढाइएको छ । चिनीको भाउ १४० रुपैयाँ किलो पुगेको छ । खानेतेलमा पनि मूल्यवृद्धि भएको छ । अनि जनताले कसरी पेट पाल्ने ? हरेक खाद्यान्नको मूल्यवृद्धि भएको छ ।

सर्वसाधारणसँग काम छैन् । देशमा बसेर खान पनि धौ धौं परेपछि नेपालीहरु धमाधम विदेशिरहेका छन् । एयरपोर्टमा जहिले देश छोड्ने नेपालीको लर्को हुन्छ । नेपालको आधा जनसंख्या त विदेशमा छन् । मुलुकमै बसेर केही गर्छु भन्नेहरु पनि हरेश खाएर बाहिर जाने सोच बनाउँदै छन् । यस्तो हुँदासम्म सरकार गम्भीर भएको छैन् । सरकारले जनतालाई अभिभावकत्व महसुश गराउनै सकेको छैन् । जनता बाँच्नै नसक्ने अवस्थामा पुगेका छन् तर, सरकारलाई मतलब नै छैन ।

घरधनी भनेर के गर्नु, कोठाबहालमा बस्ने नभएपछि त उनीहरुलाई पनि ईंट्टा टोक्ने कि डण्डी भएको छ । भाडा आउथ्यो र पो मज्जाले बसिबसि खाएका थिए । कोठा र सटर खाली भएपछि त उनीहरुलाई पनि गुजारा गर्न समस्या भएको छ । दुई वर्षअघि दिनमै लाखौं रुपैयाँको व्यापार गर्ने पसलेहरुलाई हजार रुपैयाँको सामान बेच्न पनि गाह्रो छ । मन्दीले हरेक क्षेत्रमा असर पुर्याएको छ । आर्थिक मन्दी जनताले देखेका छन् तर, सरकारमा बस्नेहरुले देख्दैनन् ।

अर्थमन्त्री डा प्रकाशशरण महत आँखा चिम्लेर बसेका छन् । उनलाई केही थाहा छैन् । अर्थतन्त्र चलायमान भइसकेको भनि भाषण ठोक्दै हिँडेका छन् उनी । बजार र जनताको अवस्था नाजुक छ, उनी सब ठिकठाक छ भन्छन् । उनलाई साँच्नै नै केही थाहा नभएको हो कि थाहा पाएर पनि बुझ पचाएको ? उनले देशको अर्थतन्त्र भन्दा पनि आफ्नो पद जोगाउने कोसिश गरिरहेका छन् । बजार चलायमान गर्न सरकारले विभिन्न कोसिश गरेको छ । तर, कुनै फरक परेको छैन् ।

अर्थतन्त्र डामाडोल अवस्थामा छ । राज्यको ढुकुटीमा राजश्व उठ्न छोडिसकेको छ । अर्थजस्तो संवेदनशील मन्त्रालयमा बसेर हावादारीको भरमा बोलेर हुन्छ ? अर्थमन्त्रीसँग भिजन केही छैन् । जनतालाई ‘मर्नु न बाँच्नु’ भएको छ । अर्थमन्त्रीलाई कुनै चासो नै छैन् । अर्थतन्त्रलाई पहिलेकै रफ्तारमा ल्याउन अर्थमन्त्री महतसँग कुनै योजना छ ? छैन् । सरकारी खर्च बढेको बढ्यै छ । सरकार सरकारी कर्मचारीकै वरिपरि घुमिरहेको छ । राजश्व उठेको छैन्, सरकारी कर्मचारीको सेवासुविधा कटौती गर्नुपर्दैन् ?

जनताले तिरेको कर सरकारी कर्मचारीको सेवासुविधा पूर्ति गर्नै पुग्दैन् । विकासका काम सरकारले के गर्थ्यों ? जनप्रतिनिधि, सांसद, मन्त्री, भूपू मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, सरकारी कर्मचारी सबै मिलेर राज्यको ढुकुटी दोहन गरिरहेका छन् । काम नै नगरिकन बसिबसि सेवासुविधा पाउने सिस्टम नेपालमा मात्रै होला । फेरि सरकारमा बसेकाहरुलाई हीनताबोध पनि नहुँदो रहेछ । यिनीहरुलाई यत्तिकै तलबभत्ता र सरकारी सेवासुविधा लिन लाज लाग्दैन् ?

जनता खान नपाएर पेटमा पटुकी कसेर हिँडेका छन् । सरकारमा बसेकाहरु देशको ढुकुटीले नपुगेर विदेशीसँग हात फैलाउँछन् । यिनीहरु कहिले सुध्रिदैनन् भन्ने त सबैलाई थाहा छ । देशको प्रधानमन्त्री, मन्त्री, जनप्रतिनिधि, सांसद, सरकारी कर्मचारी देख्दा जनताहरुको मुटु भतभती पोल्छ । जनता खाइनखाइ कर तिर्छन्, त्यसको सदुपयोग नहुँदा कति रिस उठ्छ ? देश नै माफियाहरुले चलाएका छन् अनि जनताले कहाँबाट सुविधा पाउँछन् ? यस्तै पारा रह्यो भने देश झन् जटिल अवस्थामा पुग्छ ।

खाद्यान्नकै हाहाकार हुन्छ । यहाँ भोकमरी लाग्छ । कमाइ नभएपछि सबै चोरडकैतीतिर लाग्छन् । त्यसैले अबचाँहि सरकारमा बस्नेहरु ‘एक्सन’ मा जानुपर्यो । सरकारी कर्मचारी, जनप्रतिनिधि, सांसदहरु पनि जिम्मेवार भइदिनुपर्यो । देश जटिल अवस्थामा छ तर, कोही तलबभत्ता, सरकारी सेवासुविधा चाँहिन्न भन्न तयार छैनन् । सरकारले अब आफैं उनीहरुको सेवासुविधा कटौती गरिदिनुपर्यो । त्यस्तै, जनताले घरघरमा लुकाएर राखेका पैसा पनि बाहिर : ल्याउनुपर्छ ।

त्यसका लागि सरकारले पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउने निर्णय गर्नुपर्छ । यो भयो भने अहिले दराजमा लुकाइएका पैसा बाहिर आउँछन् । देशको अर्थमन्त्री महत र राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको काम गर्ने क्षमता सबैले देखिसकेका छन् । यिनीहरुलाई हटाएर सक्षम व्यक्तिलाई ल्याउनुपर्छ । प्रधानमन्त्री पुष्पकमल दाहालले यिनीहरुको मुख हेर्ने कि देश बचाउने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।