0 COMMENTS

असोज ८, काठमाडौँ ।  नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ प्रधानमन्त्री ली छ्याङ उपस्थितिमा १३ बुँदे सहमतिमा हस्ताक्षर भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार नेपाली र चिनियाँ उच्च अधिकारीबीच मानव संशाधन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर, हिल्सा सिमिकोट सडक, चीनसँग सडक पूर्वाधार, डिजिटल अर्थतन्त्र सुढृढीकरणका लागि सहायता, कृषि, पशुपन्छी तथा माछापालन, वनस्पतिजन्य औषधीलगायतका विषयमा हस्ताक्षर भएको छ । नेपाल र चीनबीचको व्यापार र भुक्तानीको अध्ययन गर्न संयुक्त प्राविधिक समुह (joint technical working group) गठन गर्ने समझदारी भएको छ ।

चिनियाँ राष्ट्रपति सीसँगको भेटपश्चात हाङ्चाओबाट बेइजिङ आइपुगेका प्रधानमन्त्री प्रचण्डले आज समकक्षी लीसँग भेटवार्ता गरेका हुन् ।

यस्ता छन् सम्झौताहरू :

१. चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको राष्ट्रिय योजना आयोगबीच सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर ।

२. नेपाल र चीन सरकारबीच नेपालको उत्तरी पहाडी क्षेत्रका लागि उत्पादन र जीवनयापन सामग्रीपत्र हस्तान्तरण ।

३. चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको अर्थ मन्त्रालयबीच डिजिटल अर्थतन्त्रमा सहयोग अभिवृद्धि गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर ।

४. चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको वन तथा वातावरण मन्त्रालयबीच हरित तथा न्यून कार्बन विकासमा सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर ।

५. सिजाली उच्च विद्यालय परियोजना कार्यान्वयन गर्ने सम्झौता ।

६. चीनको कृषि तथा ग्रामीण मामिला मन्त्रालय र नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच कृषि पशुपन्छी तथा मत्स्यपालनको क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर ।

७. १९८१ मा चीनमा सम्पन्न वाणिज्य मन्त्रालय र नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच भएको चीन–नेपाल व्यापार तथा भुक्तानी सम्झौताको पुनरावलोकन र परिमार्जनका लागि संयुक्त प्राविधिक कार्यदल गठन गर्ने समझदारीपत्रमा हस्ताक्षर ।

८. चीनको भन्सार सामान्य प्रशासन र नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच नेपालबाट चीनमा चिनियाँ औषधि उत्पादन गर्न चाहिने वनस्पति निर्यातका लागि आवश्यक परीक्षणसम्बन्धी प्रोटोकलमा हस्ताक्षर ।

९. चीनको राष्ट्रिय प्रेस तथा प्रकाशन सम्बन्धी प्रशासन र नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच अनुवाद र प्रकाशनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर ।

१०. नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबीच विज्ञान तथा प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर ।

११. प्रकोप सामग्री सम्बन्धी समझदारीपत्र आदान–प्रदान

१२. मानव संसाधन सम्बन्धी समझदारीपत्र आदान–प्रदान

१३. हिल्सा सिमकोट रोड परियोजना सम्बन्धी समझदारी पत्र आदानप्रदान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।