0 COMMENTS

असोज ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । चीनको साताब्यापी भ्रमणका लागि शनिबार हाङजाओ पुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग द्विपक्षीय हितका विभिन्न विषयमा छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

वार्तामा दुबै नेताबीच यस क्षेत्रको क्षेत्रीय स्थिरता, शान्ति र सम्बृद्धिका लागि सबै क्षेत्रीय शक्तिबीच साझा सहकार्य जरूरी रहेको कुरामा सहमति भएको थियो । यसैगरी दुवै नेताबीच एक अर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने सहमति भएको हो । यसैगरी राष्ट्रपति सीले वार्तामा नेपालको आर्थिक, सामाजिक विकासमा खुला दिलले सहकार्य र सहयोग गर्न चीन तयार रहेको सन्देश दिएको पनि सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच वान टु वान र प्रतिनिधि मण्डलसँग सामूहिकरूपमा समेत गरी एक घण्टा लामो वार्ता भएको थियो । त्यसक्रममा राष्ट्रपति सीले नेपाल र चीनले आपसी सम्मान, समर्थन र समान अस्तित्वका साथ ठूलो र सानो देशको कुनै भेदविना समान सहअस्तित्वका साथ अत्यन्तै नजिकको सम्बन्ध अघि बढाएको स्मरण गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप उचाईंमा पुग्ने बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले चीन र नेपालबीच विगत लामो समयदेखिको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै अहिलेको परिस्थितिमा सीले अघि सारेका नवीनतम् अवधारणा यस क्षेत्रको शान्ति र प्रगतिका लागि महत्वपूर्ण रहेको बताए । उनले नेपालले एक चीन नीतिप्रतिको प्रतिबद्धता व्यवहारबाटै पुष्टि गरेको बताउँदै नेपालले स्वतन्त्र र असंलग्न परराष्ट नीति अंगिकार गरेको र यो वा त्यो नामका कुनै पनि सैन्य रणनीतिक योजनामा सामेल हुन नसक्ने प्रष्ट पारेका थिए ।

प्रधानमन्त्री प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड अवधारणाले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने भएकाले यसअघि नै नेपालले उक्त अवधारणामा सहमति जनाइसकेको स्मरण गराएका थिए। चीनको विकासले एसिया क्षेत्रकै विकासमा सहयोग पुग्ने अपेक्षा प्रधानमन्त्रीले गरेका थिए ।

राष्ट्रपति सीले प्रधानमन्त्री प्रचण्डसँगका यसअघिका भेटहरूको चर्चा गर्दै आफू राष्ट्रपति हुनासाथ दक्षिण एसियाबाट पहिलो नेताकारूपमा चीनमा स्वागत गरेको स्मरण गरे । उनले यस किसिमका छलफलले दुई देशबीचका सम्बन्ध र विश्वासलाई अझ सुदृढ गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।