0 COMMENTS

भदाै ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका भ्रमणमा जाँदैछन् । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री दाहाल अमेरिका जान लागेका हुन् । प्रधानमन्त्री कार्यालयका अनुसार साँझ ६ बजे कतार एअरलाइन्सको विमानबाट प्रधानमन्त्री अमेरिकाको न्युयोर्क भ्रमणमा जाँदैछन् ।

संयुक्त राष्ट्रसंघको १८ देखि २६ सेप्टेम्बरसम्म न्युयोर्कमा हुने महासभामा भाग लिन प्रचण्ड सानो प्रतिनिधिमण्डलसहित अमेरिका जान लागेका हुन् । भ्रमण टोलीमा प्रधानमन्त्रीको सचिवालयबाट पाँच जना र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता हुनेछ । प्रधानमन्त्रीको सचिवालयबाट स्वकीय सचिव गंगा दाहाल, फोटोग्राफर प्रदीपराज वन्त र दुईजना सुरक्षा गार्ड रहेका छन् ।

महासभाको ७८ औं सभालाई प्रधानमन्त्री प्रचण्डले असोज ४ गते नेपालका तर्फबाट सम्बोधन गर्नेछन् । अमेरिकामा रहँदा प्रधानमन्त्री प्रचण्ड दीगो विकास लक्ष्य सम्मेलन, क्लाइमेट एम्बिसन समिटलगायत अन्य महत्वपूर्ण एजेन्डासहितका उच्चस्तरीय कार्यक्रममा सहभागी हुने कार्यसूची रहेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन पुगेका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सम्मान दिने रात्रीभोजमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन् । महासभा चलिरहँदा प्रधानमन्त्री प्रचण्डले विभिन्न देशका समकक्षी तथा प्रतिनिधि मण्डलसँग साइडलाइन भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाट सीधै चीन जानेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।