0 COMMENTS

भदाै २५, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट महिला संगठन क्रान्तिकारी महिला संगठन, नेपालको एकता भेला सम्पन्न भएको छ । एकता भेलाले अखिल नेपाल महिला संघ (क्रान्तिकारी) र अखिल नेपाल महिला संगठनबीचको एकता भेलाबाट संगठनको नाम ‘क्रान्तिकारी महिला संगठन, नेपाल राखेको हो । भेलाले अम्बिका मुडभरीको संयोजकत्वमा ७५ सदस्यीय सम्मेलन आयोजक समिति निर्माण गरेको छ । सो संगठनको सहसंयोजकमा शारदा महत र अन्जना तामाङ रहनु भएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका बरिष्ठ नेता सिपी गजुरेल गौरवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको एकता भेलालाई प्रमुख अतिथि गौरव, अतिथिहरु पार्टीका कार्यालय सदस्य तथा प्रदेश ३ का इन्चार्ज हेमन्तप्रकाश ओली सुदर्शन, पार्टी सचिवालय सदस्य तथा प्रदेश ३ का सहसंयोजक सुरेश श्रेष्ठ, लालबहादुर विसी, प्रा.डा.जगदीशचन्द्र भण्डारी लगायतका नेताहरुले वैचारिक राजनीतिक महत्वको प्रशिक्षणमूलक मन्तव्य राख्नुभएको थियो ।

अम्बिका मुडभरीको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन पार्वती सिंहले गर्नुभएको थियो भने अम्बिका रेग्मीले स्वागत मन्तव्य राख्नुभएको थियो । भेलामा अम्बिका मुडभरीले प्रतिवेदन र अन्जना तामाङले विधान प्रस्तुत गर्नुभएको थियो ।

भेलापछि लगत्तै बसेको नवनिर्मित केन्द्रीय समितिको बैठकले प्रदेशका संयोजक र सहसंयोजकहरु र प्रदेश र जिल्लाको एकता भेलाको मिति समेत ठोस गरेको छ । बैठकले गरेको निर्णय अनुसार प्रदेश १ को संयोजकमा अम्बिका रेग्मी, सहसंयोजकमा रितु रपाल, प्रदेश २ को संयोजकमा नरमाया मगर र सहसंयोजकमा यशोदा माझी, प्रदेश ३ को संयोजकमा धनमाया निरौला ‘अनु’ र सहसंयोजकहरुमा गीता कार्की, कमला चन्द र विमला भण्डारी, प्रदेश ४ को संयोजकमा लक्ष्मी खड्का, सहसंयोजकहरुमा देवी थापा र उर्मिला थापा, प्रदेश ५ को संयोजकमा तेजकुमारी थापा, सहसंयोजकहरुमा विना भट्टराई, निमकला पुन र इश्वरी थापा, प्रदेश ६ को संयोजकमा लक्ष्मी चौलागाई, सहसंयोजकमा कैला विष्ट, प्रदेश ७ को संयोजकमा पवित्र कार्की र सहसंयोजकमा मिना कडाल र लक्ष्मी चौधरीलाई जिम्मेवारी दिएको छ ।

बैठकले असोज मसान्तसम्म प्रदेशको भेला र मंसिर मसान्तसम्ममा जिल्ला एकता भेला सम्पन्न गरिसक्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।