0 COMMENTS

भदाै ११, काठमाडौँ । प्रतिनिधिसभा मातहतका १० विषयगत समितिले नयाँ कार्यकालका लागि आजदेखि सभापति पाउँदैछन् । संसद् सचिवालयका अनुसार संविधानसभाबाट विसं २०७२ असोज ३ गते संविधान जारी भएपछि दोस्रो कार्यकालका लागि गठन भएको प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिका सभापतिको चयन हुन लागेको हो ।

संसद् सचिवालयका अनुसार १० मध्ये ९ वटा विषयगत समितिमा एकल उम्मेदवारी परेको छ भने एउटा समितिमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ । एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा हुने र दुई जनाको उम्मेदवारी रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि निर्वाचन हुने छ ।

जनमत पार्टीका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी परे पछि सो समितिमा निर्वाचन हुने भएको हो । सत्तारुढ गठबन्धन र एमालेबीचको भागवण्डामा यो समिति जनमतले पाए पनि रास्वपाले पनि उम्मेदवारी दिए पछि निर्वाचन हुने भएको हो ।

कांग्रेसका सांसद आरजु राणा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र रामहरि खतिवडाले सुशासन समितिको र सन्तोष चालिसेले अर्थ समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । यस्तै एमालेका सांसद ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समितिको सभापति र किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिमा उम्मेदवारी दिएका छन् ।

सत्तारूढ दल माओवादी केन्द्रका सांसद विमला सुवेदीले कानुन न्याय तथा मानवअधिकार र जसपाका सांसद राजकिशोर यादवले अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा उम्मेदवारी दर्ता गरेका छन् । यसैगरी एकीकृत समाजवादीका भानुभक्त जोशीले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि, राप्रपाका दिपक सिंहले पूर्वाधार विकास र जनमत पार्टीका अब्दुल खानले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।