भदाै १, काठमाडौँ । नेपालमा गएको पुस महिनायता डेंगु सङ्क्रमितको सङ्ख्या १४ हजार नाघेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को आँकडा अनुसार गएको पुस महिनायता डेंगु सङ्क्रमितको सङ्ख्या १४ हजार ३५७ जना पुगेको हो । सङ्क्रमणबाट हालसम्म १० जना सङ्क्रमितको मृत्यु भएको छ ।
डेंगु सङ्क्रमण ७५ जिल्लामा फैलिएको छ । जसमध्ये सबै भन्दा धेरै सुनसरी जिल्लामा सङ्क्रमण पुष्टि भएको छ । सुनसरीमा ७ हजार ४४९ जनामा सङ्क्रमण पुष्टि हुँदा मोरङमा १ हजार ६७६ जनामा पुष्टि भएको छ । यस्तै, धादिङ जिल्लामा १ हजार ३२० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यस्तै, क्रमश: कास्कीमा २४९, दार्चुलामा १९४, झापामा ९१३, काठमाडौँमा १९९, सङ्खुवासभामा १७६, तनहुँमा १३० जनामा डेंगु पुष्टि भएको ईडीसीडीले जनाएको छ ।
यस्तै, सात प्रदेश मध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा सङ्क्रमण पुष्टि भएको छ । यस प्रदेशमा १० हजार ८१३ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि बागमती प्रदेशमा २ हजार ९ जनामा पुष्टि हुँदा गण्डकी प्रदेशमा ६०३ जनामा पुष्टि भएको छ । यस्तै क्रमश: सुदूरपश्चिम प्रदेशमा ४५१, लुम्बिनी प्रदेशमा ३०७, मधेस प्रदेशमा १३५ कर्णाली प्रदेशमा ३९ जनामा डेंगु पुष्टि भएको छ ।