0 COMMENTS

साउन १७, काठमाडौँ । चीनको राजधानी बेइजिङ आसपासका क्षेत्रमा मुसलधारे वर्षा भएको छ । चीनको राजधानी बेइजिङस्थित उक्त क्षेत्रमा १४० वर्षयताकै मुसलधारे वर्षा भएको हो । बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४ दशमलब आठ मिलिमिटर वर्षा भएको छ । सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको थियो ।

राजधानी र आसपासका क्षेत्रमा शनिवारदेखि मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन् । वर्षाको यो अभिलेख विगत ४० घण्टाको हो । राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा नौ लाख ७४ हजार चार सय जना विस्थापित भएका छन् । वर्षामा कमी आएसँगै नदीमा जलस्तर पनि घट्दै गएको छ । अधिकारीहरूले जोखिमसूचक तहबाट पानीको सतह तल झरेको बताएका छन् । साथै उनीहरूले सर्वसाधारणलाई सचेत गराउने चेतावनीका सूचना पनि हटाएका छन् ।

बाढीपहिरामा परी कम्तीमा २० जनाले ज्यान गुमाएका छन् भने केयौँ घाइते भएका छन् । राजधानीका एक लाख बाढीपीडितको उद्धार गरिएको छ भने रेलमा अलपत्र परेका यात्रीलाई हेलिकप्टरबाट खानेकुरा खसाएर सहयोग गरिएको थियो । साथै उनीहरूलाई सैनिक जवानले उद्धार गरेका थिए । उद्धारका क्रममा मंगलवार दुई जनाले बेइजिङमा ज्यान गुमाएका बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।