0 COMMENTS

साउन १४, काठमाडौँ । हुम्लामा बाढी पहिरोका कारण दुई गाउँमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक मल्लले सर्केगाड गाउँपालिका वडा नम्बर २ का रिप र सर्केगाड गाउँपालिका वडा नम्बर ८ सर्केदेउ गाउँमा क्षति पुगेको जानकारी दिए ।

मानवीय क्षति नभए पनि घर, जलविद्युत आयोजना, सडक लगायतका भौतिक संरचनामा क्षति पुगेको उनले जानकारी दिए । सर्केदेउ गाउँका दलबहादुर रोकायको घर भत्किएको छ । रिप गाउँमा दुईतिरबाट खोलाको बाढी आएपछि गाउँलेहरु समस्यामा परेका थिए । सो गाउँका करिब २५ जनालाई घर खालि गराएर सुरक्षित स्थानमा सारिएको प्रहरी प्रवक्ता मल्लले जानकारी दिए ।

जलविद्युत आयोजनामा पनि क्षति पुगेपछि गाउँलेहरु अन्धकारमा रात बिताउन बाध्य छन् । सडक र सञ्चार सम्पर्क पनि विच्छेद भएको छ । त्यसैले सो स्थानको यकिन विवरण पनि आउन सकेको छैन ।

बाढी पहिरोले क्षति पुर्याएको खबर पाएपछि सदरमुकामबाट सेना, सशस्त्र र नेपाल प्रहरीको टोली सो स्थानतर्फ पठाइएको थियो । तर बाटो भत्किएकाले सो टोली अगाडि बढ्न सकेको थिएन । त्यसपछि आज फेरि अर्को टोली बाढी पहिरो प्रभावित क्षेत्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता मल्लले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।