0 COMMENTS

साउन १०, काठमाडौँ । नेपालमा डेङ्गुका बिरामी चार हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको बताए । उनका अनुसार चार हजार दुई सय ८९ जनामा डेङ्गुका बिरामी भएका छन् ।

महाशाखाका अनुसार असार ३० गते दुई हजार नौ सय ३० जनामा डेङ्गुको सङ्क्रमण भएको थियो । हाल कोशी प्रदेशमा दुई हजार सात सय ५४, बागमती प्रदेशमा सात सय ७६, गण्डकी प्रदेशमा तीन सय ४४, सुदूर-पश्चिम प्रदेशमा तीन सय १६, लुम्बिनी प्रदेशमा एक सय ६६, मधेस प्रदेशमा २२ जना र कर्णाली प्रदेशमा २० जनामा डेङ्गुका बिरामी रहेका छन् ।

डेङ्गु सङ्क्रमणले सबैभन्दा बढी १० जिल्ला प्रभावित भएका छन् । ती १० जिल्लामा मात्र तीन हजार छ सय ७१ बिरामी रहेका छन् । सुनसरी दुई हजार पाँच सय ४२, धादिङ चर सय एक, कास्की दुई सय पाँच, दार्चुला एक सय ९०, काठमाडौँ ८०, सङ्खुवासभा ६४, म्याग्दी ५४, कञ्चनपुर ५२, रुपन्देही ४५ र मोरङ ३८ बिरामी परेका छन् । डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गु रोग लाग्दछ ।

महाशाखाले डेङ्गु सङ्क्रमण असारदेखि बढ्दै गइ भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।